जनता टाइम्स

१ मंसिर २०७७, सोमबार ०७:५९

५ वर्षपछि खुल्यो गोपालेश्वर मन्दिर : दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन


काठमाडौँ,  मङ्सिर १ ।   दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्नि‍र्माणपछि पहिलो पटक मन्दिर खुला गर्न लागिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा। गोविन्द टण्डनले जानकारी दिनुभयो ।

विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हाम फाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यस बेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भिड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भिड लाग्छ, उहाँले भन्नुभयो ।

विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । पाँच वर्षअघिको भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भिड लाग्न थालेको छ ।

यस वर्ष मङ्सिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छन् । मङ्गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।