काठमाडौं, मंसिर २
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताउनुभयो । उहाँले ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठनका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेको बताउनुभयो ।
भट्टराईले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा विमानस्थलको संख्या बढ्दै गएको र उडान संख्या पनि बढ्दै जाने भएकाले देशभरका विमानस्थलको सुरक्षा संवेदनशीलता हेरेर भए पनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको उहाँले सुनाउनुभयो ।
अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलाप र त्यसमा संलग्न संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले वशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने बताउनुभयो । यस्तै देशभित्र सञ्चालित कतिपय विमानस्थलहरु दक्षिण र उत्तर तर्फको सीमानानजिक रहेको र त्यस्ता विमानस्थल बढी संवेदनशील हुने भएकाले पनि विमानस्थल सुरक्षाको जिम्मेवारी दिनेगरी छुट्टै सुरक्षा युनिटको अवधारणालाई अगाडि ल्याउनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्