जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १८:०६

पहिलो हाफ नेपाल र बंगलादेशबीचको बराबरी


काठमाडौं, मंसिर २

नेपाल र बंगलादेशबीचको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरिमा सकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरी खेलेका हुन् । मैत्रीपूर्ण सिरिजको पहिलो खेल गुमाएको नेपाल दोस्रो खेलमा स्ट्राइकर भरत खवासको कप्तानीमा मैदानमा उत्रिएको छ । तर खवास खेलको १८औं मिनेटमा मैदान बाहिरिए । उनको स्थानमा अर्का स्ट्राइकर नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

खेलको २३औं मिनेटमा घरेलु टोली बंगलादेश अग्रता लिनबाट चुकेको थियो । पेनाल्टी क्षेत्र नजिकैबाट बंगलादेशका स्ट्राइकर सुमोन रेजाले गरेको सशक्त प्रहार क्रसरबार नजिकैबाट बाहिरिएको थियो । त्यस्तै २८औं मिनेटमा बंगलादेशको सशक्त प्रहार डिफेन्डर अनन्त तामाङले क्लियर गरिदिएका थिए । ३१औं मिनेटमा बंगलादेशले पुनः खेलमा अग्रता लिने अवसर गुमायो ।

बंगलादेशका स्ट्राइकर मोहम्मद नाबिदको पासमा अर्का स्ट्राइकर रेजाले पोस्ट नजिकैबाट गरेको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउँदा बंगलादेश अग्रता लिनबाट चुक्यो । त्यस्तै ३३औं मिनेटमा नेपालले अवसर गुमायो । ३३औं मिनेटमा पाएको कर्नर प्रहारमा डिफेन्डर अनन्त तामाङको हेडिङ प्रहार बाहिरिएपछि नेपालले खेलमा अग्रता लिनबाट चुकेको थियो ।