जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १२:२१

विश्‍वकप छनोट : ब्राजिल अपराजित


काठमाडौं, मंसिर ३

कतार विश्वकप २०२२ का लागि दक्षिण अमेरिका छनोटमा ब्राजिल अपराजित रहेको छ । छनोटका चार खेल खेल्दा चारवटैमा जित निकाल्दै ब्राजिलले १२ अंक जोडेर शीर्ष स्थानमा आफूलाई पुर्याएको छ । मंगलबार राति उरुग्वेको घरेलु मैदानमा भएको खेलमा ब्राजिलले २-० को जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ब्राजिलको जितका लागि आर्थुर मेलो र रिचार्लिसनले एक/एक गोल गरे ।

खेलको ३४औं मिनेटमा आर्थुर मेलोले गोल गर्दै पाहुना टोली ब्राजिललाई अग्रता दिलाएका थिए । उनले गाब्रिअल जेससको पासमा गोल गर्दै ब्राजिललाई खेलमा अगाडि बढाएका हुन् । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा रिचर्लिसनले थप एक गोल गरे । उनले लोडीको पासमा गोल गर्दै पहिलो हाफमा ब्रजिललाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा भने दुवै टोलीको कुनै थप गोल हुन सकेन । दोस्रो हाफमा घरेलु टोली उरुग्वे १० खेलाडीमा समेटिएको थियो । खेलको ७१औं मिनेटमा स्ट्राइकर एडिन्सन काभानीले सोझै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो । पराजित उरुग्वे पाँचौं स्थानमा छ । उरुग्वेले चार खेलमा दुई जित र दुई हारसहित ६ अंक जोडेको छ ।