जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार १९:३५

महासचिव बिष्णु पौडेलले यसकारण ल्याए सचिवालय सदस्यको सामुहिक राजीनामा प्रस्ताव


काठमाडौं, मंसिर ४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या समाधान गर्नुको साटो समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको कारण सामुहिक राजीनामाको प्रस्ताव गर्नुपरेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आफ्नो ब्यक्तिगत स्वार्थका लागि आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको महासचिव पौडेलको निश्कर्ष छ । नेकपाको सचिवालयले आफ्नो अभिभारा सही ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्ने आफ्नो प्रष्ट मान्यता रहेको बताउनु भयो । उहाँले सोमवार बसेको सचिवालय बैठकमा सामुहिक राजीनामाको प्रस्ताव गर्नुभएको थियो ।

‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौं, हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौं, हाम्रो अभिभारा ठिक ढंगले पुरा गर्न नसक्ने भयौं, त्यसैले तपाईहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस, हामी पदमुक्त हुन्छौं,’ महासचिव पौडेलले भन्नुभयो । महासचिव पौडेलले सीमा बाहिर गएर आरोप पत्यारोप गर्ने काम रोकिनै पर्ने बटमलाइन पनि सुनाउनु भयो ।

‘सीमा बाहिरका, मर्यादा बाहिरका, तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिउन, पार्टी तथ्यको जडमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस, त्यसका लागि अगाडि बढौं भन्ने मेरो चाहाना हो त्यही अनुसार जिम्मेवारी पुरा गर्न चाहान्छु,’ महासचिव पौडेलले भन्नुभयो । महासचिव पौडेलका अनुसार सचिवालय पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा त्यस्तो गर्न असफ लबनेको छ ।

‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ, त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु, यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृतवदायी भुमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ,’ महासचिव पौडेलले भन्नुभयो ।