जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १२:२१

कार्यकारी कामरेड ! ऐनामा आफ्नो अनुहार हेर्ने कि ?


दिल्लीको प्रधानमन्त्री कार्यालयमा भारतको हितविपरीत गर्दिन भनेर कागज गर्ने हामी काकाहरूसँग तपाईँले पार्टी एकता गर्ने अनि भारतको नक्सामा समेटिएको भूभाग नेपालको नक्सामा ल्याउने दुस्साहस गर्ने जुन काम भयो, त्यो सक्कली राष्ट्रवाद हुने त कुरै भएन ! किनकि सक्कली राष्ट्रवाद भनेकै भारतको हितविपरीत कार्य गर्दिन भन्नु र दिल्लीमै गएर कागज गर्नु पो हो त !

प्रा.डा.ऋषिराम शर्मा

नेकपाका कार्यकारी (काका) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड कामरेडद्वारा नेकपाका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यक्तिगत प्रतिवेदनका रूपमा पाँचहजार हाराहारी शब्दमा रिस, आक्रोश गाली, र कुण्ठाको पेटारो सचिवालय बैठकमा पोखेर र असरल्लै पारेर जानुभएछ ! पूरै लुगा फुकालेर विरोध गर्ने शैली पनि विदेशी संसदतिर देखिन्थ्यो क्यार ! यताको सचिवालयमा पनि सरेछ ! हुनत त्यसमा हाम्रो पनि अंश छ भनेर “वा”,“झ”,“ने” र “काजी” गरी चारजना आदरणीय “वाझनेकाजी” हरूमध्ये (ने आफैले नबोले पनि) बिभिन्न मिडियाहरूमाबकितम गरिसक्नु भएका कारण त्यो आरोपपत्रका केही कित्ता सेयर ती बाझनेकाजी चारजनाले पनि किनिसक्नु भएको रहेछ भन्ने प्रस्टै भयो नै ! रङ्गीचङ्गी बेलुनजस्तो हावादारी र बड्याम्म फुट्नेसेयर त्यति ठूला पाका र घगडानहरूलाई यति छिटै बिक्री गर्न सफल हुनु यहाँको राजनीतिका ‘फुट’पाथे व्यापारको चतुरतालाई ‘क्या बात्’ भन्नै पर्छ !

यो पाँचहजार सङ्ख्यासँग काका कामरेडको भावनात्मक र आत्मीय नाता रहेछ कि क्याहो ! उहिले केन्द्रीय सदस्य पाँच हजार, टुँडिखेलमा जिम्मा लिएको पाँच हजार, र अहिले आरोपपत्रमा पाँच हजार ! दुनियाँले सत्र हजारका जिम्माको भारी बोकाईरहँदा यहाँ स्वयमले टुँडिखेलमा कुर्लेर “सत्र होइन, पाँच हजारको जिम्मा लिन्छु” भन्नुभएकै भएकै हो र त्यो दिन नरघाती विद्रोहको बाह्र वर्षपछि पाप धुरीबाट त नभनौ, टुँडिखेलबाट कुर्लेकै हो !वैद्य र विप्लव जस्ता अर्गानिक क्रान्तिकारीहरूलाई खेदिसके पछि प्रकाश नामधारी अन्धकारहरूलाई भेला पारी पाँच हजार केन्द्रीय सदस्य बनाउनु भएकै हो ! हुन त महान् भौतिकवादी-स्वसमाजवादी (आफू, आफ्ना परिवार र कुटुम्बमा पूर्ण समाजवाद आइसकेको अवस्थाका)कामरेडका शब्दकोषमा पाप भन्ने शब्द त नहुनु पर्ने हो ! तर खै कुन्नि किन हो यहाँको त्यो पाँच हजारे प्रतिवेदन उर्फ आरोपपत्रमा “पापको घडा” पृ. () भन्ने शब्द पनि परेको रहेछ ! आखिर कागले अबदेखि ‘कुहूकुहू’ गर्छु भनेर जतिसुकै कसम खाएपनि ‘काग-काग’नगरी कहाँ छाड्थ्यो र !

अँ, काका कामरेडज्यू ! तपाईको पाँच हजारे आरोपपत्रमा मेलम्चीको पानी ल्याउन प्रधानमन्त्रीले किन ढिला गरेको भन्ने मुख्य आरोप छुट्न गएछ ! त्यसलाई समावेश गर्नु होला, वास्तवमा यो उहिल्यै गाउमा बुहारीले डोको बोकी गाग्रीमा वा कम्मरमा घैला बोकी पानी ल्याएको जस्तो कहाँ हो र ! यो त निश्चित समयमा ल्याउनै पर्ने सरकारी योजना पो हो त ! अझै खानेपानी मन्त्रालय खानेबानी मन्त्रालय बनिरहेको काम टुलुटुलु हेरिरहनु तपाईँ प्रधानमन्त्रीको ठूलो अपराध हो ! अँ, अर्को कुरो, हजुरकै हालसम्मको घरबेटी (डेरा सर्छु भनेर घोषणा गर्नु भाकोले हालसम्मको भनेको) ले कुन्नि कसको आडभरोस पाएर हो, करोडौँ किसानको मलको ठेक्का लिई एडभान्सको करोडौँ हसुरेर अहिले किसानका खेत र पछि किसानका पेट भोकै पार्ने महान् पुण्य कर्म गर्नु भएको छ ! देशको ढुकुटी सुकुटी पारी खानेहरूको लागि यो पुण्य कर्म भए पनि खुवाउने चाहिँ सरकार भएकाले त्यस्तो अपराधपूर्ण किसानमारा काम गर्ने प्रधानमन्त्रीको अपराध तपाईको प्रतिवेदन नामधारी आरोपपत्रमा छुट्न गएकामा त्यो पनि त्यसमा समावेश गर्न सनम्र अनुरोध गर्दछु !

अँ रअ को प्रमुखलाई भेटेको कुरो हो वा रअ प्रमुखले कसैको हुलाकी बनेर प्रधानमन्त्रीलाई भेटेको हो, त्यसलाई लिएर प्रधानमन्त्रीको राष्ट्रियतामाथि शङ्का गर्दै नक्कली राष्ट्रवादी भन्नुभएछ र प्रवक्ताले गाला च्यातिएर कानैसम्म पुग्ने गरी प्रधानमन्त्रीको सत्तो सराप पनि गर्नु भएछ !, यो सारै राम्रो र घतलाग्दो कुरो हो ! जसको प्रधानमन्त्रीत्वकालमा उहिल्यैदेखि गुमेको भूमिले नेपाली नागरिकता पायो ! त्यसलाई नक्कली राष्ट्रवादी भनेर पत्रमा राखेर गर्नै पर्ने काम गर्नु भो ।

हो, यहाँहरूलाई उहिल्यैको नुनको सोझो गर्न त्यो नभनी नहुने वाध्यता पनि थियो होला ! विद्रोहकालमा एसडी मुनिको सङ्गत गरी रअसँग त्यसरी गोप्य (!) भेट्ने र पिँडालुको पात झैँ लल्यालुलुक गर्ने तपाईँ दुईजना (मध्ये अहिले एकजना जो छुट्टिएर तपाईँलाई हातको इसाराले आउआउ भन्दै बोलाईरहनुभएको छ) ले विद्रोह कालमा दिल्लीमा भारतको हितविपरित केही नगर्ने भनी कागज गरेर विद्रोहको विरुवा जो हुर्काउनु भो ! आज तपाईलाई त्यही नूनको सोझो गर्नु पर्ने वाध्यता होला । त्यसैले सक्कली राष्ट्रवादको यो सक्कली परिभाषानुरूप किन नचलेको भन्ने कुरा त आरोप पत्रमा त छुटेछ नि !

१५ असोज, २०७३ मा अनलाइनमार्गको समाचारमा “माओवादी विद्रोहको लज्जास्पद खुलासा, भारतसंग यस्तो छ प्रचण्ड र बाबुरामको सम्बन्ध !” शीर्षकको सुवास देवकोटाको हिमाल पत्रिकाबाट साभार गरिएको लेखमा सन्दर्भसहित उल्लेख भएको यस सन्दर्भले पनि त्यो नुनको सोझो गर्नु पर्ने वाध्यता आइपरे होला नै ! जुन यसप्रकार उल्लेख छ !

“माओवादीको नेतृत्वले भारत सरकारसँग भारतीय हित प्रतिकूल केही नगर्ने लिखित प्रतिबद्धता जाहेर गरेको खुलासा हालै प्रकाशित नेपाल इन ट्रान्जिसनः फ्रम पिपुल्स वार टु फ्रेजायल पीस नामको पुस्तकको भारतीय प्रोफेसर एसडी मुनिको ‘ब्रिङगिङ दि माओइष्ट डाउन फ्रम दि हिल्स्ः इंडियाज रोल्स्’ शीर्षकको लेखमा माओवादी नेतृत्वले २०५९ असारमा भारतीय प्रधानमन्त्री कार्यालय (पिएमओ) मा त्यस्तो प्रतिबद्धता जनाएको किटान विवरण छ । ….माओवादी नेतृत्वले निकट सम्बन्ध बनाएको प्रा. मुनिको लेखले अविश्वसनीय सम्बन्धका पाटाहरू सार्वजनिक गरेको छ । लेखले ‘विस्तारवादी भारत’ का जासूसी एजेन्सीहरू ‘इन्टेलिजेन्स ब्यूरो’ (आईबी) र ‘रिसर्च एण्ड एनालाइसिस विङ’ (रअ) सँग माओवादी नेतृत्व कसरी नजिक भयो र उनीहरूमार्फत पिएमओमा कसरी प्रतिबद्धता जनायो भन्ने कुराको सविस्तार वर्णन छ । भारतीय संस्थापनसँगको माओवादी सम्बन्धको यो खुलासाले उसले १० वर्षे ‘जनयुद्ध’ र राष्ट्रियताको आन्दोलनलाई नेपाली इतिहासको सबभन्दा भद्दा मजाक प्रमाणित गरिदिएको छ ।’

दिल्लीको प्रधानमन्त्री कार्यालयमा भारतको हितविपरीत गर्दिन भनेर कागज गर्ने हामी काकाहरूसँग तपाईँले पार्टी एकता गर्ने अनि भारतको नक्सामा समेटिएको भूभाग नेपालको नक्सामा ल्याउने दुस्साहस गर्ने जुन काम भयो, त्यो सक्कली राष्ट्रवाद हुने त कुरै भएन ! किनकि सक्कली राष्ट्रवाद भनेकै भारतको हितविपरीत कार्य गर्दिन भन्नु र दिल्लीमै गएर कागज गर्नु पो हो त ! सक्कली राष्ट्रवादको यो अग्रगामी छलाङयुक्त मान्यताको विधि र पद्धति अनुरूप तपाई नचलेकाले आवश्यक त्याग गर्नुस भन्ने कुरालाई त्यस आरोपत्रमा तुरुन्त समावेश गर्न अनुरोध गर्दछु ! अर्को कुरो म काकाले नक्कली लडाकू बनाई क्यान्टोन्मेन्टमा राखी मुलुकको अरबौँ राजस्व सर्वस्व पारेको कुरो म आफैले बोलेको त्यत्रो दृश्य मिडिया र सञ्जालमा भाइरल भै सकेपछि पनि तपाईँ चुप लागेर बसेको देखेपछि तपाई चाहिँ सामाजिक सञ्जाल हेर्दै नहेर्ने व्यक्ति पो हुनुहुँदो रहेछ भन्ने बुझ्न गारै परेन । आरोपपत्रमा प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो व्यक्ति सामजिक सञ्जाल राम्रोसँग हेर्न पनि नजान्ने व्यक्ति भएकाले आवश्यक त्याग गर्नुस भनेर नराखी नहुने देखियो !

उततिर काकाको यो कुण्ठा पुलिन्दा देखेर केपी ओलीले राजीनामा दिनुपर्छ भनी गगनको गनगन र बाबुरामको बर्बराहट सुरु भइसकेको छ ! तर पनि बाबुरामले चाहिँ ट्विट् गर्दै केपी ओलीले सचिवालय बैठकमा व्यक्त गरेको कुरालाई कोड गर्दै केपीका कतिपय भनाई ठीक भनेका छन्, उनले बुधबारको ट्विटमा आरोप प्रमाणित भए प्रधानमन्त्री र अध्यक्षबाट आफू हट्नु पर्ने र प्रमाणित नभए आरोप लगाउने व्यक्ति हट्नुपर्ने कुरालाई ठीक भनेका छन्, किनकि बाबुरामले क्यानटोन्मेन्टमा हालका काकाले २० अर्ब भ्रष्टाचार गरेको भनेकै हुन् र सोही कुरा आरोपित काकाले स्वयम्ले स्वीकार गरी बोलेकै हुन । यसको प्रमाण क्यान्टोन्मेन्ट काण्ड भिडियो सञ्जालमा भाइरल भई काकाका जिउको भ्रष्टाचारको भैसी डुड्डाएको नसुन्ने कोही छैन ।

अँ, आरोपपत्रमा छुटेको अर्को कुरो, खुमलटारमा मेरा वरिपरि सुरक्षाका नाममा त्यत्रो सुरक्षा निकाय खटाउने, तर मेरो “एनि हाउ ओली हटाउ” नामक धोद्रे कम्पनीका नयाँ धेरथोर सेयर होल्डर र भुपू प्रमका कोटेश्वर र डल्लुका घरमा थोरै सुरक्षाकर्मी राखेर यो सरकारले अक्षम्य पक्षपात गरेको छ ! महान् घरबेटीलाई समेत सुरक्षा दिनुपर्ने भएकाले यसो गरिएको हो भने अर्कै कुरो हो र त्यसलाई प्रस्टै पार्नु परो, नत्र यो विधि र पद्धतिको घोर र लज्जास्पद उल्लङ्घन भएकाले तपाईको आरोपपत्रमा नराखी नहुने कुरो छुटेको देखियो, त्यसलाई समावेश गर्नु होला !

हजुर काका कामरेड ! यी सारा कुरा समेट्दा आफ्नो अन्तरङ्ग भावनासँग समेटिएको पाँच हजार सङ्ख्या भन्दा बढी शब्द हुँदै आफूले जिम्मा लिएकाको सीमा नाघेर सत्र हजार पुग्लान् कि भन्ने भय पनि लाग्न सक्छ ! त्यसो भो भने आरोप पत्र पढ्दा शब्द नगनी सिराहमा झैँ बत्ती निभाएर गनी वा चितवनमा झै मतपत्र च्यातेरै भएपनि समाजवादी पद्धति(!)को प्रयोग गरी हिसाबकिताब मिलाउँला र पाँचजहजार ननघाउँला नि त ! त्यतिले पनि नपुगे आधा दर्जन जति पोष्यपकेट मिडियामार्फत यहाँ पाँच हजार शब्द मात्रै छन् भनी कोनि केके जाति पाटी र डबलीहरूमा जबर्जस्ती वान्ता गर्न लगाउँला ! टन्टै खलास !!!!

हो, यहाँहरूलाई उहिल्यैको नुनको सोझो गर्न त्यो नभनी नहुने वाध्यता पनि थियो होला ! विद्रोहकालमा एसडी मुनिको सङ्गत गरी रअसँग त्यसरी गोप्य (!) भेट्ने र पिँडालुको पात झैँ लल्यालुलुक गर्ने तपाईँ दुईजना (मध्ये अहिले एकजना जो छुट्टिएर तपाईँलाई हातको इसाराले आउआउ भन्दै बोलाईरहनुभएको छ) ले विद्रोह कालमा दिल्लीमा भारतको हितविपरित केही नगर्ने भनी कागज गरेर विद्रोहको विरुवा जो हुर्काउनु भो ! आज तपाईलाई त्यही नूनको सोझो गर्नु पर्ने वाध्यता होला 

काका कामरेड यस्ता अपराध त अरु पनि होलान ! अर्काको टाउको छिनालेर मात्र आफ्नो उचाइ बढाउन सकिने यहाँको महान् अग्रगामी छलाङयुक्त विनाशकारी शैलीको जयजय होस ! र आफूले आधा शतकदेखि आवाद गरेका र पन्ध्रौँ वर्षसम्म जिमिदारी चलाएका बारीका पाटाहरूलाई यही विनाशकारी लेदोको पहिरोमा बगाएर केही समयपछि राजनीतिक सुकुम्बासी पथमा यात्रा गर्न जुर्मुराइ सक्नुभएका र पुराना मित्रसँग पटक्कै नमिल्ने “बाझने” हरूलाई रामराम ! अहिलेको आरोपपत्रको संस्करणमा यत्ति त कम्तीमा मिसाऊँ, बाँकी यो आरोपपत्रको दोस्रो संस्करण निकाल्दा एउटा ग्रन्थ नै बनाउनु होला र विमोचनै गर्नुहोला कि कसो !

कामरेड ! हुनत तपाईको योगदान मुलुकका परिवर्तनका लागि चानचुने होइन, तर के गर्नु ! तपाईको त्यो योगदानका छेवैमा तपाईले नै खडा गरेको परिवारवाद र निजी गुठीवादको लोभको येमानको अर्को पहाडले ती सबै योगदानका त्यतिबेलाका अग्ला पहाडलाई पुड्को र ढिस्को पारिसक्यो !अहङ्कारको हुङ्कारले राजनीतिक स्थिरतालाई धोद्रो पारिसक्यो ! तपाईको सत्ताको भोकको आगोले संविधान पोलपाल गरेर खान खोज्नेहरू जुर्मुराउन थालिसके । त्यसैले बेलैमा परिवारवादको पहाडबाट झरेर योगदानको ढिस्कामा उभिएर ठण्डा दिमागले सोच्ने कि ! विद्रोहमा राज्यका तर्फबाट आतङ्ककारी र यहाँहरूबाट शत्रु र सुराकी भनी मृत्युको खेती गरिएकाहरू र तिनका परिवार, अपाङ्ग, घाइते र बिल्लीबाठहरूका अनुहारका ऐनामा आफ्नो अनुहार हेर्ने कि ?