जनता टाइम्स

७ मंसिर २०७७, आईतवार १०:५२

प्रशारण लाइनमा नयाँ फडको : काठमाडौंदेखि ढल्केवरसम्मको बिजुलीको प्रसारण लुप जोडियो


दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक शाक्यको भनाई

काठमाडौं, मंसिर ७ । नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केवार–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोड्न सफल भएको छ । नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हाल्नु भएका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो ।

‘ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका छन,’ शाक्यले भन्नुभयो, ‘पटक–पटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पथ्र्यो ।’ उहाँले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु रहेको जानकारी दिनुभयो । ‘सुरुका छलफलपछि ग्रिडका प्रबन्धकलाई आवश्यक जडानको कदमहरु चाल्न आग्रह गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘खिम्ती प्लान्टका कर्मचारी र ग्रिडकै केही कर्मचारी पनि अस्पष्ट थिए । तर, सैद्धान्तिक छलफलपछि उहाँहरु पनि आश्वस्त हुनुभयो । सबैको प्रयासबाट हामी सफल भयौँ ।’

उहाँले दक्ष इन्जिनियरहरुसँग छलफल गर्दा सहजै समस्या समाधान हुन्छ भन्ने यो एउटा सफल उदाहरण भएको जानकारी दिनुभयो । यसको प्रत्यक्ष फाइदा जाडो याममा देखिने उहाँले बताउनुभयो । ‘एउटा सर्किट ढल्केबरबाट पश्चिम चन्द्रनिगाहपुर, हेटौँडा हुँदै कुलेखानी, स्युचाटार, बालाजु भएर भक्तपुर हुँदै लामासाँघु र खिम्तीसम्म पुग्थ्यो । अर्को खिम्तिबाट लामासाँघु, भक्तपुर हुँदै काठमाडौँ प्रवेश हुन्थ्यो,’ शाक्यले भन्नुभयो, ‘त्यस्तो अवस्थामा बानेश्वरतिर बिजुली पुगने भने हेटौँतिरको लाइनबाट विजुली ल्याएर जोड्नुपथ्यो भने त्यता ओभरलोड हुँदा भक्तपुरतिरबाट ल्याएर जोड्नुपथ्र्यो । कहिले पूर्वबाट कहिले पश्चिमबाट जोड्नुपर्ने बाध्यताले ती दुईको लुप प्रसारण कहिल्यै पनि एकै ठाउँमा जोडिन पाएन ।’

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यहि लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिंदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ । ‘यो सामान्य समस्या हो, दुइ–चार जना इन्जिनियर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो,’ उहाँले भन्नुभयो, ‘यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो । यो समाधान भयो ।’ शाक्यले स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) को कन्ट्रोलरुममा पुगी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिने क्रममा त्यहाँका प्राविधिकहरुसँगको छलफलमा यो पत्ता लगाएपछि तत्काल समाधानको प्रयासमा लागेको बताउनुभयो ।

‘केही इन्जिनियर साथीहरु सुरुमा यो काम गर्नु हुदैंन भनी पछि हटेका थिए ।,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले केही समय मागेपछि हामी यो कार्य आइतबार सम्पन्न गर्न सफल भएका छौँ । रक्सौलमा पनि कहिले भारत केहिले नेपाल गर्दा त्यस्तो समस्या छ । अब त्यो पनि तत्काल समाधान गर्ने गरी टिम परिचालन भएको छ ।’ शाक्यले त्यहाँको समाधानपछि भारत र नेपालमा लाइन स्विचिङ गर्दा लाइन काट्नु–जोड्नु पर्ने बाध्यता पनि अब हट्ने दाबी गर्नुभयो ।

उहाँले आफ्नै दक्ष इन्जिनियरहरुको हौसला बढाएर र उनीहरुरुसँग छलफल गरी अघि बढ्ने हो भने विश्वसनीय सेवा दिन सकिन्छ भन्ने सन्देश पनि यो कामले दिएको बताउनुभयो । ‘हामीले आगामी दिनमा क्लालिटी, सर्भिस र प्राइससँगै आयोजनाहरुमा स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दिएर अघि बढ्नुको अर्को विकल्प छैन,’ शाक्यले भन्नुभयो, ‘सधैँभरी विदेशी परामर्शदाताको मात्रै भर पर्ने हो भने ठाउँ–ठाउँमा धोका पाइन्छ । ढल्केबर सबस्टेशनले यदि हाम्रो इन्जिनियरिङ प्रयोग नभएको भए यति छिटो प्रगति गर्ने थिएन । स्वदेशी इन्जिनियरिङ प्रयोगलाई प्राथमिकता दियो भने जस्तासुकै समस्या पनि हल गर्न सकिन्छ भन्ने त्यो एउटा गतिलो उदाहरण हो ।’

उहाँले आफ्नो कार्यकालभरी स्वदेशी प्रविधि र प्राविधिकलाई नै प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘चिलिमे मोडेल अर्थात स्वदेशी प्रविधि, स्वदेशी सिप र स्वदेशी लगानीमा अघि बढ्नुपर्छ । ठूला–ठूला आयोजनामा पनि अब स्वदेशी परामर्शदाता नै प्रयोग गर्नुपर्छ म त्यसैमा लाग्छु,’ उहाँले भन्नुभयो, ‘आजको दिनमा विद्युतको चुनौति भनेको लोडसेडिङ होइन, अब त्यसलाई इतिहास बनाएर विश्वसनियता, राम्रो सेवा र उपयुक्त मुल्यमा जोड दिनुपर्छ ।’ त्यसका लागि विद्युत प्रणालीलाई प्राविधिक हिसावले स्तरीय र बलियो बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘त्यसका लागि प्रसारण लाइनहरु निर्माण गर्ने र सबस्टेशनको क्षमता थप गरी आधुनिकिकरण गर्दै लैजाने र वितरण प्रणाली सुदृढ गर्नु आवश्यक छ,’ उहाँले भन्नुभयो । आगामी दिनमा काठमाडौं उपत्यकामा बढन सक्ने लोड समेतको विचार गरी प्राविधिक उपायहरु अप्टिमाइजेशनमा आधारित भई सम्भव भएसम्म सस्तो र स्वदेशी बुद्धिले जानेको र मानेको जुक्तिहरु लगाई कार्य गरिने पनि उहाँले बताउनुभयो । प्राधिकरणका अनुसार यसपालिको जाडो यामका लागि २ सय ५० मेगावाट सम्मको बिजुली आयातको लागि भारतले आइतबार मात्रै स्वीकृत दिएको छ । २ सय ५० मेगावट मध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

‘यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यो समयसम्म नेपालको आफनै बिजुली अधिक हुने हुँदा निर्यातको लागि वार्ता भैरहेको बताइएको छ । गत हप्ता मात्रै ढल्केवर मुजफ्फरपुर लाइन ४०० केभिमा चार्ज भइ भारतबाट ४०० केभिमा पहिलो पटक बिजुली प्रवाह भएको हो । यसबाट बिजुलीको प्रवाहको लागि राजमार्ग तयार भएको छ । जसबाट आगामी वर्षात मा ५०० देखि ६०० मेगावाटसम्म निर्यातको संभावना बनेको छ ।