जनता टाइम्स

९ मंसिर २०७७, मंगलवार १०:४३

प्रचण्डको त्यो हर्कतले बिच्किए माधव नेपाल


टपेन्द्र कार्की, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्णयप्रति बरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउनु भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता नेपाल असन्तुष्ट बन्नुभएको हो ।

बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बन्नुभएको हो । ‘हामीले पार्टीको बैठक बोलाउन माग गरेको पत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थियौं तर उहाँले त्यसको जवाफ लिखित रुपमा दिएर फायर खोल्नुभएको हो। यो विषय सचिवालयमै टुंग्याउनुपथ्र्यो तर उहाँ (दाहाल) ले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म पठाउनु उपयुक्त होइन। यो त पार्टी विभाजनकै तहमा जाने कुरा भयो। यसले राम्रो गर्दैन’, नेपाललाई उद्धृत गर्दै उनी निकट एक नेताले भने।

स्थायी कमिटी सदस्यसमेत रहेका ती नेताका अनुसार दाहालले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म लैजानु तत्कालका लागि कमजोरी हो। दाहालको यस कदमबाट नेपाल असन्तुष्ट बनेको ती नेताको भनाइ छ। कुनै पनि हालतमा पार्टी विभाजन गर्नु हुँदैन भन्ने धारणा राख्दै आउनुभएका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एव पार्टी अध्यक्ष ओलीले कार्यशैली सुधार गर्नुपर्ने तथा पार्टी विधि, विधान र पद्धतिमा चल्नुपर्ने धारणा राख्दै आउनुभएको छ । सचिवालय बैठक माग गर्दै कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा पार्टीका प्रथम अध्यक्ष ओलीलाई पत्र लेख्नुभएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कात्तिक २५ मा सो पत्रको जवाफ पत्रबाटै फर्काउनु भएको थियो । कात्तिक २८ मा बसेको सचिवालय बैठकमा नेपाललगायत पाँचजना सचिवालय सदस्यको तर्फबाट भन्दै कार्यकारी अध्यक्ष दाहालले १९ पृष्ठको प्रतिवेदन पेस गर्नुभयो। त्यसपछि मंसिर ३ मा बसेको सचिवालय बैठकमा ओलीले दाहालको प्रतिवेदनमा लगाइएका आरोपको खण्डन गर्दै त्यसलाई खारेज गर्ने बताउनु भएको थियो । सोही बैठकमा ओलीले दाहालको प्रतिवेदनको जवाफ दिने पनि बताउनु भएको हो । ओलीले जवाफ लेख्न समय लाग्ने बताएपछि सचिवालय बैठक १३ गते बस्ने गरी स्थगित गरिएको थियो। अब बस्ने बैठकमा ओलीले जवाफी प्रतिवेदन पेस गर्ने बताइएको छ।

विवाद बढिरहेका बेला दाहालले आइतबार साँझ सो प्रतिवेदन छापेर सातै प्रदेश र अन्य कमिटीका सदस्यलाई पठाउनु भएको छ । त्यसको जानकारी पाएपछि नेता नेपाल असन्तुष्ट बन्नुभएको हो । ‘पार्टी विभाजनको दिशामा जानु हुँदैन। दाहालले जसरी प्रतिवेदन छापेर तल्लो तहसम्म पुर्याउनु भयो त्यो राम्रो पक्ष हुँदै होइन, पार्टी विभाजनको अवस्थामा पुगेको छैन। यो कदमले पार्टीमा विभाजनको रेखा कोर्न सक्छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो। यस विषयमा नेपालले दहालको ध्यानाकर्षण गराइसकेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन एकलौटी ढंगले छापेर पार्टीको तल्ला तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन्। जवाफमा दाहालले आफू सो कदम सच्याउन तयार रहेको बताएका छन्।

विवाद मिलाउन दोस्रो पुस्ता सक्रिय

यसैबीच नेकपाभित्रको विवाद सामान्यीकरण गर्न दोस्रो तहका नेताहरूले सक्रियता बढाएका छन्। अध्यक्षद्वय ओली र दाहालबीच तीव्र मतभेद भइरहेका बेला दोस्रो तहका नेताहरूले उनीहरूलाई एकढिक्का भएर अघि बढ्न दबाब दिएका छन। प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष दाहालबीच उत्पन्न चरम विवादले पार्टी विभाजनको मुखमा पुगेको आँकलन गर्न थालिएका बेला दोस्रो तहका केही नेता विवाद मिलाउन सक्रिय भएका हुन ।

स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल र चक्रपाणि खनालले अध्यक्षद्वयलाई भेटेर विवाद मिलाउन दबाब दिने निर्णय गर्दै सोहीअनुरूप सक्रियता बढाउनु भएको छ । दोस्रो तहका यी नेताहरूले दुवै अध्यक्षलाई भेटेरै मिल्न सुझाव दिने र पार्टीभित्र नेताहरूको व्यवस्थापनमा देखिएको समस्याबारे छलफल अघि बढाउने निर्णय आइतबार गरेका थिए।

सोही निर्णयअनुरूप सोमबार बिहान दाहाल निवास खुमलटार पुगेका स्थायी कमिटी सदस्यद्वय गजुरेल र रायमाझीले पार्टी विभाजन गरेर कसैलाई पनि फाइदा नहुने भन्दै यसतर्फ नलाग्न सुझाव दिनुभयो। उहाँहरूले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीसँग मिलेर विवाद समाधान गर्न दाहाललाई आग्रह गर्नुभएको थियो । (नागरिकबाट)