जनकपुरधाम, मंसिर ११। महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको घटनाले उग्र रूप लिएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबरले बुधबार फेरि आन्दोलन चर्किएको हो ।
बर्दिबास चोकमा प्रदर्शन गरिरहेकाहरूलाई तितरबितर पार्न प्रहरीले चलाएको गोली लागी न्यौपाने गम्भीर घाइते भएका थिए । तत्काल हेलिकोप्टरबाट काठमाडौं लगिएका न्यौपानेको मंगलबार राति मृत्यु भएको खबर पाएलगत्तै बुधबार बिहानैदेखि स्थानीयवासी पुनः प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरूले राजमार्ग, बजार र सबै व्यापारिक प्रतिष्ठान बन्द गराएका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन् ।
निषेधाज्ञाको समय प्रदर्शन र नाराबाजी गरेको भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीयले प्रहरीमाथि ढुंगा र खाली बियरका बोतलले प्रहार थिए । आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारबाहीको माग गर्दै बर्दिबासमा आन्दोलन चर्किएको हो ।
निषेधाज्ञापछि पनि अन्दोलन नरोकिएपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ ।
को हुन बालिका हत्या गर्ने ? यस्तो छ पारिवारीक अवस्था
महोत्तरीको गौशाला बजारको जिरोमाइल चोकदेखि ५० मिटर उत्तरतर्फ एउटा घर छ । सधैं चहल(पहल भइरहने यो घर दुई दिनयता सुनसान छ । सटरमा बाहिरबाट र मूल गेटमा भित्रबाट ताला लागेको छ ।
घर राजकिशोर साहको हो, जसका छोरा अरुण साहमाथि ६ वर्षकी बालिका गुलाब खातुनको हत्या गरेको अभियोग लगेको छ । अरुणले प्रहरीसमक्ष साविती वयान दिएका छन् । बालिकाको हत्यापछि बर्दिवास अशान्त छ । आक्रोसित भीडले बर्दिबासमा रहेको साह परिवारको घरमा आगो लगाएको छ । बर्दिबासको अशान्तिले गौशाला नगरपालिका वडा नम्बर ५ मा रहेको साह परिवारको घर पनि रित्तिएको छ ।
अरुबेला यो घरमा राजकिशोरका दुई छोराबुहारी र तीन नातानातिनी बस्दै आएका थिए । अहिले माइलो छोरा अशोक मात्र घरमा बस्नु भएको छ र डरले भित्रबाट ताला लगाएर बसेको बताउनुभयो ‘बर्दिवासको घर जलिहाल्यो, हामीलाई पनि कसैले केही गर्छन् कि भन्ने त्रासमा बाँच्नु परेको छ’ अभियुक्तका दाजु अशोकले संचारकर्मी संग भन्नुभयो , ‘त्रासकै कारण दाजू भाउजू अन्यत्र गएर बस्नुभएको छ । मैले पनि श्रीमती र छोराछोरीलाई अर्कै ठाउँमा पठाएको छु ।’ ‘हत्या अरुणले गरेका हुन्, तर उनका कारण हामी लज्जित र असुरक्षित हुनुपरेको छ ।’
विदेशबाट फर्किपछि अपराध
राजकिशोरका दुई श्रीमतीमध्ये जेठीतर्फका छोरा हुन् सन्तोष भने कान्छीतर्फका अशोक र अरुण । अरुण ४ बर्षकै छँदा उनकी आमाको मृत्यु भयो । त्यसले लालनपोषण जेठीआमा र बुबाले गरे । कान्छो छोरो, त्यसमाथि आमा गुमाएकाले सबैले माया गरे ।
२०७१ सालमा एसएलसी उत्तीर्ण गरेका अरुणलाई बुबाले उच्च शिक्षा पढ्न जनकपुरधाम पठाए । जनकपुरधाममा डेढ बर्ष कोठा लिएर त बसे । तर, पढाइ अगाडि बढाएनन् । ‘यसपछि बुबाले उनलाई वैदेशिक रोजगारीमा पठाउने निर्णय गर्नुभयो’ अशोक भन्छन्, ‘डेढ लाख खर्च गरेर उनलाई मलेसिया पठाइयो ।’
उनले मलेसियामा ५ बर्ष बिताए । तर, आफ्नो कमाइ भनेर घरमा पैसा पठाएको थाहा छैन । अरुण मलेसियामै भएका बेला कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बन्यो । विभिन्न देशमा रहेका नेपालीहरु घर फर्किए । अरुण पनि वैशाख पहिलो साता नेपाल आए र महोत्तरी पुगे ।
उनलाई मदिराको नराम्रो लत लागिसकेको रहेछ । दैनिक रक्सी पिएर हिँड्न थाले । मदिरा पिएर हिँड्ने क्रममा २८ बैशाखमा आफ्नो बाल्यकालको साथी दिलिप ठाकुरको हत्या गरे । घटनापछि भागेका उनी चार दिनमै पक्राउ परे । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो । तर, जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भए । अरुणका दाजु अशोकले भन्नुभयो , ‘रिहा भएपछि उनी सुध्रिन्छन् कि भन्ने थियो, अपराध गरेर पनि छुट्दा उनको मनोबल बढेको अहिले महसुस हुँदैछ ।’
‘त्यही मनोबलका कारण उसले अवोध बच्चाको हत्या गर्यो । त्यसबेला नै (रिहा नगरी) जेलमै छोडिदिएको हुने रहेछ’ अरुणका दाजु अशोकले पश्चाताप भावमा भन्नुभयो । दाजु अशोकका अनुसार धरौटीमा छुटेपछि बुबा राजकिशोरले अरुणलाई आफूले डेढ वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएको बर्दिबासमा बोलाएर राखेका थिए । पसलमा आफूलाई सहयोग पनि हुने र निगरानी पनि पुग्ने बुबाको विश्वास थियो । ‘बर्दिवास पुगेपछि केही समय राम्रै व्यवहार देखाएको थियो । हामीलाई पनि अब सुुध्रिन्छ कि भन्ने लागेको थियो’ तर उसले पुनः आफ्नो कुकर्म दोहोर्यायो ।’
मंसिर ७ गते साँझ राजकिशोर पत्नीसहित जनकपुर गएका बेला छोरा अरुणले पसलमा चकलेट किन्न आएकी शहीद आलमकी ६ बर्षीया छोरी गुलाब खातुनको हत्या गरे । र, शव बोरामा हालेर खेतमा फाले । घटना भएको भोलिपल्ट अर्थात सोमबार अरुणले आफ्ना बुवालाई बालिकाको हत्या गरेको सुनाए । लगत्तै बुबा राजकिशोरले नै अरुणलाई गौशालास्थित ईलाका प्रहरी कार्यालय ल्याएर प्रहरीको जिम्मा लगाएको दाजु अशोकले सुनाउनुभयो । र, अरुणकै वयानका आधारमा प्रहरीले बालिकाको शव फेला पारेको थियो ।
दाजु अशोकका अनुसार उनको परिवारको प्रयास अरुणलाई सुधार गर्ने नै थियो । त्यसअनुसार प्रयास पनि भएको हो । हत्या अभियोगमा पक्राउ परेका उनलाई परिवारले नै धरौटीमा छुटाएर सुध्रने मौका पनि दिएको हो । तर, उनी सुध्रिएनन् । फूलजस्ती गुलाबको हत्या गरेकाले अरुणलाई जति कठोर दिँदा पनि फरक नपर्ने अशोक बताउनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्