जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १२:२३

प्रशासकहरुलाई किन लाग्यो लोकसेवाको कोचिङ पढाउन बन्देज ? यी हुन प्रमुख कारण


काठमाडौं, मंसिर १२ । सामान्य प्रशासन मन्त्रालयले सरकारी सेवामा रहेका प्रशासकहरुलाई लोकसेवा तयारी कक्षा (कोचिङ) पढाउन रोक लगाएको छ । देशको संघीय राजधानी काठमाडौंको सिंहदवारका २२ वटा मन्त्रालयमा कार्यरत उपसचिवदेखि सचिवसम्मका उच्च अधिकारीहरु सरकारको कामभन्दा लोकसेवा तयारी कक्षा पढाउनतिर बढी ब्यस्त हुने गरेको कारण सरकारी कामकाजमै असर परेपछि रोक लगाइएको हो ।

मन्त्रालयका अनुसार नेपाल सरकारका उपसचिवदेखि सचिवसम्म मन्त्रालय वा कार्यालयको काम छाडेर निजी इन्स्ट्च्यिूटमा कोचिङ पढाउन व्यस्त हुँदा सरकारी कामकाजमा प्रत्यक्ष असर परेको छ ।उपसचिवदेखि सचिवसम्म नजी संस्थामा पढाउन व्यस्त हुँदा एकातिर सरकारी कामकाजमा असर परेको छ भने अर्कोतिर सरकारका गोप्य सूचनाहरु पनि बाहिरिने गरेकाले छ ।

कोरोना संक्रमणपछि कोचिङ इन्ष्टिच्यूटका विद्यार्थीलाई मन्त्रालयको ढोका थुनेर घँटौं जुम (अनलाइन) मार्फत् पढाउने क्रम बढ्दै गएको गुनासो पनि सामान्यमा पुगेपछि प्रशासकलाई निजी संस्थाको ट्यूसन पढाउन बन्देज लगाउन मन्त्रालय बाध्य भएको हो । मन्त्रालय र कार्यालयका कामै छोडेर निजी संस्थामा पढाउने उपसचिवदेखि सचिवसम्मले मासिक १० देखि १२ लाखसम्म लिने गरेका छन ।

यसरी लोकसेवा आयोगको परीक्षा दिने परीक्षार्थीहरुलाई पढाउने केही उच्च प्रशासकहरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनाली, उद्योग मन्त्रालयका सहसचिव प्रकाश दाहाल, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी, योजना आयोगका बासुदेव शर्मा, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव नारायण शर्मा दुवाडी, सहकारी विभागका रजिस्टार टोकराज पाण्डे, स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मीलगायत रहेको सूचना मन्त्रालयमा पुगेको छ ।

मन्त्रालयका अनुसार यी सहसचिव र सचिवहरुले शंखमुलमा रहेको चैतन्य, पुतलीसडकको नेम, सोपान, एपेक्स, कामादलगायतका निजी इन्स्ट्च्यिूटमा लोकसेवाका परीक्षा दिनेहरुलाई कोचिङ कक्षा लिने गरेका छन। लोकसेवाको कोचिङ कक्षा लिने इन्स्टिच्यूटहरुले बोर्डमा नेपाल सरकारका उपसचिव, सहसचिव र सचिवको फोटो राखेर नै विज्ञापन गर्दे आएका छन ।

उच्च तहका कर्मचारीहरु लोकसेवाको क्लास लिन काठमाडौंमात्र होइन, पोखरा, विराटनगरजस्ता शहरमा पनि जाने गरेका छन । ती शहरमा जाँदा काठमाडौंको मन्त्रालय वा कार्यालयबाट काज लिने गर्छन । उपत्यका बाहिर कोचिङ क्लास लिन जाँदा काज र टीएडीए सुविधासमेत लिने गरेको पाइएपछि सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीलाई कोचिङ क्लास पढाउन रोक लगाउन बाध्य भएको जनाएको छ ।पढाउने क्रममा सरकारी कर्मचारीले मन्त्रालयका गोप्य सूचनासमेत विद्यार्थीलाई बताउने गरेको पाइएको मन्त्रालयको भनाइ छ ।