जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १३:२२

प्रधानमन्त्रीको सन्देशपछि भारतीय संकेत : वार्ताद्वारा जटिल समस्या पनि समाधान गर्न सक्छौं


काठमाडौं, मंसिर १२

भारतले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्न सक्ने संकेत दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहिवार भेट्न पुग्नु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलालाई उहाले वार्ताकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने स्पष्ट सन्देश दिनु भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटको भोलीपल्ट शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उहाले पछिल्ला केही वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आएको बताउँदै बलियोरुपमा सँगै अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो । ‘पछिल्ला केही वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा नयाँ उतारचढाव आएको छ,’ उहाले भन्नुभयो, ‘तर पनि हामी अझै बलियो रुपमा सँगसँगै अघि बढिरहेका छौँ । मोदीको चारपटकको भ्रमण, हाम्रा राजनीतिक नेतृत्वहरुको १६ पटकको कूल भ्रमणले पनि नेपाल भारतको सम्बन्धलाई नयाँ र ताजा ऊर्जा प्रदान गरेको छ ।’

सचिव शृङ्गलाले भारतले अघि सारेको नारा ‘सबका साथ, सबका विकास र सबका विश्वास’ तथा नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजन पनि एकअर्कासँग मिल्ने बताउनु भयो । नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्ने बताउदै भन्नुभयो, ‘नेपाल र भारतका पुस्ताप्रति हामी जवाफदेही छौं । घनिष्ट मित्रको रुपमा सँगै काम गर्नुपर्छ ।’ अन्तरक्रियाको शुरु र अन्तिममा उहाले नेपालीमा सम्बोधन गर्नुभएको थियो । उहाले नेपालजस्तो सुन्दर देशमा विदेश सचिवका हैसियतमा भ्रमण गर्न पाउनु सौभाग्य विषय रहेको स्पष्ट पार्नुभयो ।