जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १५:५७

स्वास्थ्यकर्मीहरुलाई कोरोना जोखिम भत्ता वितरण गरिसक्यौं : मन्त्रालय


काठमाडौं, मंसिर १२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता सरकारले वितरण गरिसकेको जनाएको छ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि मन्त्रालयले आवश्यक रकम निकासा गरी कोभिड–१९ अस्पतालहरुलाई वितरण गरिसकेको स्पष्ट पारेको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ बमोजिम जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रकम निकासा भइ वितरण भइसकेको स्पष्ट पारेको छ ।

कोभिड–१९ अस्पतालहरुलाई संक्रमितको उपचार गरेबापत प्रतिबिरामी प्रतिदिनका हिसाबले असोज मसान्तसम्मको ६६ करोड ७७ लाख ३५ हजार रुपैयाँ समावेश गरी निकासा गरिसकेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले जनाउनुभएको छ । यही रकमभित्र जोखिम भत्ता समावेश भएको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।

कात्तिक महिनाको रकम भने निकासा गर्ने चरणमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म जोखिम भत्ता कर्मचारी तथा स्वास्थ्यकर्मीलाई वितरण नगर्ने कोभिड–१९ अस्पतालहरुलाई मन्त्रालयले तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।