जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १९:०४

असाधारण खेलाडीको अभुतपूर्व विदाई


काठमाडौं, मंसिर १२

फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ । आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए । बिहीवार गरिएको निजी समारोहमा भने केवल दुई दर्जन जति उनका निकट मित्र तथा आफन्तमात्र सहभागी थिए । तर त्यसअघि उनीप्रति सम्मान प्रकट गर्न मानिसहरूको निकै ठूलो भिड जम्मा भएको थियो ।

कैयन् मानिसहरू रोएका देखिन्थे भने कैयन्ले हावामा चुम्बन गरेर उनको स्मरण गरेका थिए । उनको पार्थिव शरीर राखिएको शवपेटिका सामु धेरैले प्रार्थना गरेका थिए । बुधवार ६० वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको थियो । उनको निधनमा विश्वभरि नै शोक प्रकट गरिएको थियो । तर सबभन्दा धेरै शोक उनको देश आर्जेन्टिनामा परेको छ जहाँ उनलाई राष्ट्रिय विभूति मानिन्छ ।

उनको शवपेटिकालाई आर्जेन्टिनाको राष्ट्रिय झण्डा तथा उनको चर्चित १० नम्बरको जर्सीले बेरिएको थियो । त्यसलाई राष्ट्रपति भवनमा सार्वजनिक सम्मानका निम्ति राखिएको थियो । उनलाई अन्तिम बिदाइका निम्ति मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए । भिड धेरै भएपछि नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको थियो ।

शान्ति कायम गर्नका निम्ति अधिकारीहरूले उनको शवको सार्वजनिक प्रदर्शन रोकेका थिए । त्यसपछि मोटरमा राखेर बेला भिस्टा चिहानस्थलमा लगियो जहाँ उनका आमाबुवालाई गाडिएको ठाउँ नजिकै उनको शव पनि गाडिएको थियो ।