जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १९:०९

यस्तो आउँदैछ प्रधानमन्त्री ओलीको प्रतिवेदन


काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको आरोपको जवाफसहित पार्टीको एकता जोगाउँदै भावी दिशा निर्देशन हुने गरी आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुहुने भएको छ ।

शनिवार बस्ने नेकपाको सचिवालय बैठकमा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लगाउनु भएको आरोपको जवाफ तथ्यका आधारमा दिई पार्टी एकता जोगाउन नेतृत्वदायी भुमिका खेल्ने हुनुभएको हो । प्रधानमन्त्री ओलीले सचिवालयमा प्रस्तुत गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिइसक्नु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय प्रचार बिभागका उपप्रमुख सूर्य थापाले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार ओलीले सचिवालयमा प्रस्तुत गर्ने प्रतिवेदनलाई अन्तिम रुप दिइसकिएको छ ।

‘पार्टीमा पहिलो अध्यक्षको हैसियत, अभिभावकीय भूमिका, राजनीतिक उचाई र आजको जिम्मेवारीको आधारमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहनेछ, उहाँमाथि लगाइएको आरोपपत्रको जवाफ मात्रै प्रतिवेदनमा हुनेछैन,’ प्रेस सल्लाहकार थापाले जनताटाइम्ससँग भन्नुभयो, ‘जिम्मेवारीबोधका साथ, देश र पार्टीको आजको आवश्यकता र भोलिको सही बाटो के हुनेछ भन्ने दिशानिर्देश प्रतिवेदनले गर्नेछ, प्रचण्डको जस्तो अराजनीतिक र तथ्यहीन फर्जीपत्र हुनेछैन । सचिवालयमा प्रस्तुत गर्ने प्रतिवेदनलाई अध्यक्ष ओलीले आफ्नो टीममा रहेका नेताहरुसँग पनि लामो छलफल गर्नुभएको छ ।

नेकपाको सचिवालय बैठकमा शनिबार दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । यसअघि मंसिर ३ गते बसेको सचिवालय बैठकले शनिवारका लागि अर्काे बैठक तय गरेको थियो । यसअघिको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले बिधि र बिधान मिचेर आफ्नो एकल प्रस्तावका रुपमा प्रधानमन्त्री ओलीमाथि आपत्तिजनक आक्षेप लगाउनु भएको थियो । प्रचण्डको सो प्रस्तावलाई प्रधानमन्त्री ओलीले तथ्यहीन र राजनीतिक जीवननै सकाउने गरी षडयन्त्रपुर्वक ल्याइएको फर्जीपत्रको संज्ञा दिनुभएको छ ।

प्रचण्डले अध्यक्षको हैसियत नै भुलेर प्रस्ताव ल्याउनु भएपनि प्रधानमन्त्री ओली प्रथम अध्यक्ष र देशकै अभिभावकका रुपमा रहेको कारण जिम्मेवारीबोधका साथ पार्टी एकतालाई जोगाउने गरी आफ्नो राजनीतिक प्रतिवेदन ल्याउने नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रेस सल्लाहकार थापाले बताउनु भयो । ‘बजार हल्ला के छ त्यतातिर जान जरुरी छैन, प्रचण्डको जस्तो फर्जी र जाली कुरा गरेर प्रधानमन्त्रीको प्रतिवेदन आउँदैन, उहाँको प्रतिवेदन आम जनता र पार्टीका नेता, कार्यकर्ता, समर्थक र सुभेच्छुकको चाहना मुखरित हुनेछ,’ थापाले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीको प्रतिवेदन यसअघि अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको जवाफ समेटेर पार्टीको समस्या समाधानमा प्रस्ताव उन्मुख रहेको छ । अध्यक्ष प्रचण्डले सचिवालयमा राख्नुभएको प्रस्तावलाई एकताका आधार भन्ने नाम दिएर पुस्तककै रुपमा प्रकाशन गरी देशभर बितरण गर्नुभएको छ । ‘पार्टी एकता कमजोर पार्ने र फूटलाई बढावा दिने हिसावले प्रधानमन्त्रीको प्रतिवेदन आउँदैन, समस्याको निकास दिने गरी आउँछ,’ प्रतिवेदन लेखन टीममा रहेका नेकपा स्थायी कमिटीका एक सदस्यले भने ।