जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १९:४९

निजीमा होइन सरकारी अस्पताल आउन कोरोना संक्रमितलाई मुख्यमन्त्री गुरुङको आव्हान


पोखरा, मंसिर १२

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उपचारका लागि निजी अस्पताल नधाउन आग्रह गर्नुभएको छ । उहाले कोरोना संक्रमण भएकाहरुलाई निजी अस्पतालमा भनाई सरकारी अस्पतालमा आउन आव्हान गर्नुभएको हो ।

‘उपचारका लागि सरकारी अस्पताल आउनोस् । पोखराको पश्चिमाञ्चल क्षेत्रीय र संक्रामक रोग उपचार अस्पतालमा आउन म आग्रह गर्दछु’, उहाले भन्नुभयो । मुख्यमन्त्री गुरुङ नेपाल रेडक्रस सोसाइटीले शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

लाखलाख रुपैयाँ धरौटी माग्ने निजी अस्पताल चहार्नुभन्दा एक पैसा पनि नलाग्ने सरकारी अस्पतालमा आउन मुख्यमन्त्रीले आग्रह गर्नुभयो । ‘तपाईंलाई मन परे पनि नपरे पनि विश्वास गरे पनि नगरे पनि हामीसँग भएको सरकारी अस्पताल यही हो नि’, उहाले भन्नुभयो, ‘यी अस्पतालले आफ्नो तहबाट उपचार गरेकै छ ।’

‘म नागरिकतिर फर्केर भन्छु, बिरामीको परिवारतिर फर्केर भन्छु, २ पैसा खर्च गर्ने क्षमता हुँदैन, एक दिनमा १० हजार, २० हजार ५० हजार खर्च लाग्ने अस्पताल किन ताक्छौं हामी ? जहाँ निशुल्क छ, सरकारी अस्पताल, त्यहाँ आउनुपर्‍यो पहिला’, उहाले भन्नुभयो ।