जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १३:४९

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोनामुक्त


हुम्ला, मंसिर १५

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोनामुक्त बनेको छ। आइतबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको हो । १४ दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमणमुक्त बनेको हो।

मंसिर ११ गते ९ र आइतबार ४४ गरेर ५४ संक्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोनामुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्यचौकीका एचए पेमा छुकी लामाले जानकारी दिनुभयो ।

आइसोलेसनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएपछि याल्वाङको महाबौद्ध माध्यमिक विद्यालयको होस्टेलमा बस्ने विद्यार्थी घर फिर्ता भएका छन् भने धार्मिक विद्यालय गुम्बामा अध्ययनरत विद्यार्थी सोही गुम्बामै छन्। याल्वाङमा कोरोना सङ्क्रमण लक्षणका बिरामी नभएपछि आइतबारबाट यो संक्रमण बिरामी शून्य बनेको याल्वाङ स्वास्थ्यचौकीका इञ्चार्ज ग्याछु लामाले जानकारी दिनुभयो । उत्तरी नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमण पहिलोपटक कात्तिक २२ गते देखिएको थियो।

कात्तिक २४ गते चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको सङ्क्रमण फैलिएर ५६ जनामा सरेको थियो । हुम्लामा पहिलोपटक असोज ३ गते यो सङ्क्रमण देखिएको थियो । हालसम्म ६६ जना सङ्क्रमित देखिएका छन् । अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना चिकित्सकमात्रै सङ्क्रमित छन् । अन्य सबै सङ्क्रमणमुक्त बनेका छन्।