जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १५:१५

५८ अर्बमा देशभर एकैपटक ३९६ आधारभूत अस्पताल निर्माण शुरु


काठमाडौं, मंसिर १५

सरकारले देशभर एकैपटक ३९६ आधारभूत अस्पतालहरु निर्माण कार्य शुरु गरेको छ । सबै प्रदेशका ७५३ स्थानीय तहलाई समेटेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शैय्याका ३९६ आधारभूत अस्पताल निर्माण शुरु गरेको हो । प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, प्रदेश ३ मा ५१, प्रदेश ४ मा ५३, प्रदेश ५ मा ५७, प्रदेश ६ मा ४२, र प्रदेश ७ मा ५४ रहनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार स्थानीय तहको माग र आवश्यकताका आधारमा अस्पताल निर्माण शुरु गरिएको हो । आज सम्ममा ३०२ वटा भवनको शिलान्यास भइसकेको छ । यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन निर्माणको कुल बजेट ५८ अर्ब रहेको छ ।