जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १५:२३

जिबन बचाउन पोखरामा खुल्यो भेन्टिलेटर बैंक


कास्की, मंसिर १५

पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो । पालिखेले गम्भीर प्रकृतिका कुनै पनि बिरामीको मृत्यु नहोस् भनेर आफुहरुले भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताउनुभयो ।

पालिखेले भन्नुभयो, ‘हामीले अहिले १० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउने लक्ष्य छ, हामीले २० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउन सक्ने छौं ।’ उहाँका अनुसार पोखरामा ती साधन ‘स्टक’ राख्ने र जुन अस्पतालका बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा उपलब्ध गराइनेछ । सोको लागि सरकारीमा दैनिक भेन्टिलेटर प्रयोग गरेवापत एक हजार, सामुदायिकमा दुई हजार र निजी अस्पतालमा प्रयोग गरेवापत तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

त्यसैगरी सरकारी अस्पातालमा दैनिक क्यानुला प्रयोग गरेवापत तीन सय, सामुदायिकमा पाँच सय र निजीमा सात सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसका लागि तालीम प्राप्त स्वास्थ्यकर्मी आवश्यक हुनेभएकाले आगामी शनिबार पोखरामा तालीम गर्न लागिएको सर्भिसका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो । संस्थाको उक्त अभियानको लागि पोखराका विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

उक्त अभियानमा पोखराका युवा व्यवसायी सुिनल गोशलीले एक लाख, नेपाल युवा उद्यमी मञ्चले दुई लाख, संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले एक लाख, होटल बाराहीका सञ्चालक विप्लव पौडेलले एक लाख र रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले क्लबबाट एक लाख दिने घोषणा गर्नुभएको छ ।

डा. सरोज पोख्रेलले हाईफ्लो नोजल क्यानुलाको प्रयोगले भेन्टिलेटरमा लैजान नपर्ने अवस्थामा यसको प्रयोग निकै प्रभावकारी हुने भएकोले भेन्टिलेटर भन्दा पहिला यसको प्रयोग गर्दा कोरोनाका गम्भीर प्रकारका बिरामीलाई लाभ हुने बताउनुभयो । रोटरीका गभर्नर किरणलाल श्रेष्ठले क्लबको पहलमा भेन्टिलेटरसहितको अन्य सामान खरिदमा ५० प्रतिशत छुट गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।