जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १७:५०

बिज्ञापन बोर्डले पायो पूर्णता, मन्त्रीले छाने उत्कृष्ट टीम


काठमाडौं, मंसिर १५ । सरकारले विज्ञापन बोर्डलाई पूर्णता दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रिक्त पाँच सदस्यको नियुक्ति गरेसँगै बोर्डले पुर्णता पाएको हो ।

सरकारले कात्तिक ७ गते नै बोर्ड गठन गरेको थियो । सञ्चार मन्त्रालयका सहसचिव निमित्त अध्यक्ष हुने गरी कात्तिक ७ गते बोर्ड गठन गरिएको थियो । मन्त्री गुरुङले आज समितिका पाँच सदस्य नियुक्त गर्नुभएको थियो । मन्त्री गुरुङले सञ्चार क्षेत्रमा लामो समय बिताएका पाँच जनालाई सदस्य नियुक्त गर्नुभएको हो । नवनियुक्त सदस्यहरुमा शुभशंकर कँडेल, महेन्द्र शेरचन, चन्द्र न्यौपाने, बलराम थापा र बन्दना दनुवार हुनुहुन्छ । सदस्यमा नियुक्त कँडेल मिडिया सोसाइटीका अध्यक्ष तथा एबिसी मिडिया ग्रुपका अध्यक्ष हुनुहुन्छ भने संबिधानसभा सदस्यसमेत रहनुभएका शेरचन राजधानी दैनिकका अध्यक्ष तथा मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

यस्तै न्यौपाने ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान) का अध्यक्ष तथा सप्तकोशी एफएमका प्रमुख हुनुहुन्छ भने थापा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । यस्तै दनुवार सामुदायिक रेडियो प्रशारक संघ (एकोर्याव) की सचिव हुनुहुन्छ । मन्त्री गुरुङले सवै क्षेत्रमा लामो अनुभव हासिल गरेका ब्यक्तिहरुलाई बोर्डमा नियुक्त गर्नुभएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङले आज मन्त्रालयमा एक कार्यक्रमबीच नवनियुक्त बोर्ड सदस्यहरुलाई पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । बोर्ड अध्यक्षमा संचार मन्त्रालयका सहसचिव डिल्लीराम शर्मालाई सरकारले यसअघि नै तोकिसकेको छ ।

यसैबीच संचारमन्त्री गुरुङ र संचार सचिव हरि बस्यालको उपस्थितिमा बोर्डका नवनियुक्त पदाधिकारीहरुको पहिलो बैठक आजै बसेको छ । बैठकले मंसिर २२ गते अर्काे बैठक बसी विज्ञापन ऐन २०७६ ले दिएको कार्यादेश अनुरुप आवश्यक अध्ययन तथा अन्य कारवाही अघि बढाउने निणर्य गरेको छ । विज्ञापन ऐन २०७६ ले विज्ञापन बोर्डमार्फत स्वदेश तथा विदेशबाट नेपालमा प्रकाशन र प्रशारण हुने विज्ञापनको लागि आवश्यक नीति–नियम निमार्ण गर्ने र नियमन गर्ने दायित्व दिएको छ । यस्तै समानुपातिक बिज्ञापन लागू गर्ने कार्यादेशसमेत रहेको छ ।