काठमाडौं, मंसिर १६
सरकारले काठमाडौं उपत्यकामा कम्तिमा एक लाख जनाको ‘एन्टिजेन’ विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने गरी स्वाब संकलन शुरु गरेको छ । सोमबारबाट उपत्यकाका विभिन्न ठाँउबाट स्वाब संकलन शुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जिम्मा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको र काम शुरु भईसकेको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । उपत्यकाको हटस्पटको रूपमा देखिएका चाबहिल, मित्रपार्क, विशालनगरजस्ता ठाउँबाट परीक्षण सुरू गरेको छ । पहिलो दिन ७२० वटा स्वाब संकलन गरेको छ ।
परीक्षण गरिएकामध्ये ४१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जसमा बढी १५ देखि ४५ वर्ष उमेर समूहका छन् । पोजेटिभ देखिएका व्यक्तिहरूको पुनः पिसिआर विधिबाट परीक्षण गरिने भएको छ ।
महाशाखाले उपत्यकामा एन्टिजेन परीक्षण गर्न २० जना कर्मचारी परिचालन गरेको छ । निर्देशक पाण्डेले थप कर्मचारीहरू स्थानीय तहका पनि रहने भन्दै कम्तिमा ५० जना कर्मचारीले काम गर्ने जानकारी दिनुभयो । एन्टिजेन विधिबाटै उपत्यकामा ठूलो संख्यामा परीक्षण गर्ने महाशाखाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्