जनता टाइम्स

१७ मंसिर २०७७, बुधबार १५:५३

५८ खेलाडी प्ररम्भिक छनोटमा


काठमाडौं, मंसिर १७

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको छ । एन्फाले आज टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको हो । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका एन्फाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।

नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । एन्फाले बन्द प्रशिक्षणका लागि ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्डलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । एन्फाले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर दिनेश राजवंशी र आदित्य चौधरी परेका छन् ।

योहान कालिन मुख्य प्रशिक्षक भएपछि विराज टिम बाहिर रहदै आएका छन् । कालिनले विराजलाई फिटनेसको कारण भन्दै टिम बाहिर राख्दै आएका थिए । उहाँले अन्तिम पटक गत वर्षको जेठमा मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्नुभएको थियो । यस्तै विमल, सन्तोष र दिनेश एन्फाको अनुशासनको कारबाहीपछि टिममा पर्नुभएको थिएन । गत वर्षको मंसिर ३ मा कुवेतसँग भएको खेल अघि ‘डिस्को काण्ड’ मा मुँछिदा तीनै खेलाडी एन्फाको कारबाहीमा परेका थिए ।

चोटका कारण लामो समय मैदान बाहिर रहेका आदित्य ३ वर्षपछि टिममा फर्किएका हुन् । टिमका नियमित सदस्य विक्रम लामा भने बन्द प्रशिक्षणमा परेका छैनन् । एन्फाले डिसेम्बर १२ मा खेलाडी एन्फाको होस्टलमा सामेल हुने र त्यसपछि टिमको प्रशिक्षण सुरु हुने जनाएको छ । नेपाली टिमले कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा प्रशिक्षण गर्ने छन् ।