जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १३:४६

क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त, बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाँदै


काठमाडौं, मंसिर १८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । कोरोना संक्रमण भएको करिब १० दिनपछि उहाँ कोरोना संक्रमणमुक्त हुनुभएको हो । ‘भर्खरै गरेको कोभिड–१९ परीक्षणमा नेगेटिभ आएको जानकारी गराउँछु’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘मेरो स्वास्थ्यका लागि प्रार्थना गर्नुहुने हजारौँ तथा विशेषगरी अनिश बानियाँलाई दाइलाई धन्यवाद नदिरहन सक्दिन ।’

उहाँले खेलमैदानमा उत्रिन आफू आतुर रहेको बताउनुभएको छ । उहाँले जति सक्दो आफ्नो टिमका लागि सक्दो राम्रो गर्ने बताउनुभएको छ । लामिछाने मंसिर १२ गतेदेखि आइसोलेसनमा हुनुहुन्थ्यो । उहाँमा १० गतेदेखि जीउ दुख्नेलगायतका लक्षणहरू देखा परेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानुहुने भएको छ । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ । उहाँ तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा हुनुहुन्छ । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै हुनुहुन्छ ।