जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार २०:२९

ऋणीहरुलाई राष्ट्र बैंकको सहुलियत : ६ महिना कर्जा नतिरेको ऋणीको धितो लिलाममा रोक


काठमाडौं, मंसिर १८

नेपाल राष्ट्र बैंकले कोभिड–१९ प्रभावित व्यवसायीलाई दिइने कर्जामा थप सहजीकरण गर्ने भएको छ । होटल, पशुपन्छीसहित कोभिडले प्रभाव पारेका व्यवसायलाई दिइने पुनःकर्जालाई थप सहजीकरण गर्ने व्यवस्था पनि मौद्रिक नीतिको पहिलो समीक्षामार्फत हुने गरिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताउनु भयो ।

व्यावसायिक पुनःकर्जा, रियल स्टेट, शेयर धितोसहितको कर्जामा पुनरावलोकन गर्ने निर्णय पनि राष्ट्र ब्यांकले गरेको छ । ६ महीना भन्दा बढीको ब्याजको बक्यौता नभएको ऋणीको धितो लिलामी रोकिने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको यस्तो समीक्षामार्फत ६ महीनाभन्दा बढीको ब्याज बक्यौता नभए त्यस्तो ऋणीको धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको पनि भट्टले जानकारी दिनुभयो । यसले कोभिडबाट प्रभावित व्यवसायीलाई सहज हुने र अवस्था थप खराब हुनबाट बचाउनेछ । नेपाल राष्ट्र

बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै कोभिड–१९ प्रभावित व्यवसायलाई सहजता प्रदान गर्ने भएको छ । राष्ट्र बैंकले मुद्दती निक्षेप र बचत खाताबीचको ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी हुन नहुने गरी मौद्रिक नीति परिमार्जन गर्ने निर्णय गरेको छ ।

‘चालु वर्ष २०७७–७८को पहिलो त्रैमासको मौद्रिक नीति समीक्षा गर्दै बचतको व्याज धेरै घट्न नदिने नीति लिने निर्णय गरेको हो’, उहाले भन्नुभयो, ‘मुद्दतीको नौ प्रतिशत वार्षिक व्याजदर भयो भने बचतको दुई प्रतिशत दिने गरिएको छ । अब यसमा पाँच प्रतिशत विन्दुले मात्रै कम हुन पाउने व्यवस्था गर्ने निर्णय भएको छ ।’