जनता टाइम्स

२० मंसिर २०७७, शनिबार १३:१०

नेकपामा देखियो मिल्ने संकेत : २६ दिनपछि तोडियो संवादहीनता, एक्लाएक्लै बार्तामा बसे ओली-प्रचण्ड


काठमाडौं, मंसिर २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच बार्ता भएको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षदेवय ओली र प्रचण्डबीच एक्लाएक्लै बार्ता भएको हो ।

२६ दिनदेखि संवादहीनतामा रहनुभएका अध्यक्षद्वय ओली र प्रचण्ड आफ्नो अडान छाडेर सहमतिका साथ पार्टीलाई अघि बढाउने निश्कर्षसहित एक्लाएक्लै बार्ता गर्नुभएको हो । पार्टी भित्र बिवाद बढदै गएपछि समाधान गर्ने मुख्य जिम्मेवारी पनि आफूहरुकै रहेको निश्कर्षमा पुगेर बार्तामा बस्नुभएकोले निकास आउन सक्ने अनुमान गरिएको छ । नेकपाभित्र अध्यक्षद्वयलाई भिडाएर आफ्नो दुनो सोझ्याउने र कम्युनिष्ट आन्दोलनकै भविश्ष् समाप्त पार्न लाग्ने समुहको पहिचान गरी अध्यक्षद्वयले आफ्नो कमजोरीसमेत महसुस गरेमा निकास आउने देखिन्छ ।

अध्यक्षदेवय ओली र प्रचण्डबीच अहिले गहन छलफल भइरहेको नेकपा केन्द्रीय प्रचार बिभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । ‘अध्यक्षद्वय पार्टीलाई निकास दिने गरी छलफलमा बस्नुभएको छ,’ थापाले जनताटाइम्ससँग भन्नुभयो । नेकपाको बिधानले पनि दुई अध्यक्षबीचको सहमतिलाई नै जोड दिएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले यस यथार्थलाई मनन गरेर सचिवालयमा प्रस्तुत दुवै प्रस्ताव फिर्ता लिई बिधानअनुसार साझाप्रस्ताव ल्याउन सकेमा नेकपाको बिवाद समाधान हुनेछ भने अध्यक्ष भिडाएर आम जनता र कार्यकर्ता निरास पार्ने षडयन्त्र पनि अव फेरि कहिल्यै दोहोरिन पाउने छैन । यसै बिषयमा केन्द्रीय भएर दुई अध्यक्षबीच छलफल अघि बढेको बालवाटार स्रोतले जनाएको छ ।