जनता टाइम्स

२१ मंसिर २०७७, आईतवार १२:१८

टानको कार्यालयमा राजस्व अनुसन्धान विभागको छापा, यस्तो छ कारण


काठमाडौं, मंसिर २१

राजस्व अनुसन्धान विभागले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कार्यालयमा छापा मारेको छ । राजस्व छलिका केही घटना सार्वजनिक भएपछि विभागले गत ८ मंसिरमा टानलाई गोप्य र जरुरी पत्र काटी अनुसन्धानका लागि भन्दै छापा मारेको हो ।

विभागले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को फारम विक्री गरेको आर्थिक वर्ष २०७२ देखि २०७७ सम्म गरी ६ वर्षको विवरण मागेको छ । यसअघि नेपाल पर्यटन बोर्डसँग मिलेर टिम्स विक्रीमा हिनामिना भएको भन्दै बेरुजुमा परेको थियो । फेरि टिम्सकै रकम हिनामिना भएको आशंकामा विभागले राजस्व अनुसन्धानका लागि भन्दै ७ दिनभित्र कागजात उपलब्ध गराउन निर्देशन दिइकेको छ ।

विभागले पर्यटन बोर्डबाट खरिद गरी विक्री गरेको रकम, टानबाट टिम्स विक्री गरेको रकम, टिम्सको प्रत्येक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदन र टिम्स विक्री गर्दा फरक–फरक प्रकारको गरेको भए सोहीअनुसारको फरक–फरक रिपोर्ट माग गरेको छ। एक हजार ९ सय बढी पर्यटन व्यवसायीहरु आबद्ध भएको टानमा पछिल्लो समय झन् विवाद बढ्दै गएको पाइएको छ ।

सांगठनिक गतिविधि र पर्यटन प्रवर्द्धनका कामभन्दा पनि व्यक्तिगत स्वार्थ र आर्थिक लेनदेनमै संगठन लिप्त भएपछि विवादिद हुँदै आएको छ । यसले पर्यटन क्षेत्रलाई धमिलो बनाउँदै गएको व्यवसायीहरु बताउँछन् । आर्थिक पारदर्शिता नभएको भन्दै विभागले पत्र काटेसँगै सिंगो संगठन नै संकटमा परेको छ । अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगटेको पर्यटन व्यवसायीहरुको छाता संगठन नै राजस्व हिनामिना र सांगठनिक पारदर्शिता नभएपछि संकटमा परेको हो ।