जनता टाइम्स

२१ मंसिर २०७७, आईतवार १७:०५

स्थायी कमिटीको एजेन्डा बनेन अध्यक्षद्वयको प्रतिवेदन


काठमाडौं, मंसिर २१

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीले अध्यक्षद्वयको प्रतिवेदनलाई एजेन्डा नराख्ने निर्णय गरेको छ । स्थायी कमिटीको एकमात्र एजेन्डा ‘पार्टीको आन्तरिक समस्याबारे’ तय गरेको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा करिव दुई घण्टा बसेको स्थायी कमिटीको बैठकले पार्टीको समस्याका विषयमा मात्रै छलफल गर्ने निर्णय गरेको हो । दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले यी प्रतिवेदन एजेन्डा बनाउनुपर्ने बताउनु भएको थियो भने प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन छलफलको एजेन्डा बन्न नसक्ने अडान राख्नु भएको थियो । स्थायी कमिटीको निर्णयपछि प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सुरुवाती झट्का लागेको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले एउटामात्रै एजेन्डा तय गरेको बताउनु भयो । यद्यपी उहाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डको प्रस्ताव अध्ययनका लागि भने स्थायी कमिटीका सदस्यलाई दिएको जानकारी दिनुभयो ।

बैठकले अध्यक्षद्वयको प्रस्तावलाई एजेन्डा नबनाएकाले अब ति प्रतिवेदन पास वा फेल भन्ने नहुने एक स्थायी कमिटी सदस्यले बताए । ‘पार्टी भित्र देखिएका समस्याका विषयमा छलफल गरेर बैठकले ठोस निष्कर्ष निकाल्ने छ’, ती सदस्यले भने, ‘तर, अध्यक्षद्वयको प्रतिवेदनमाथी छलफल गर्न छुट्टै एजेन्डा हुनेछैन, पहिलो एजेन्डा मै कसैले यो विषयमा कुरा भने राख्न सक्नेछन् ।’

आजको बैठकमा कार्यकारी अध्यक्ष दाहालले मात्रै सम्बोधन गर्नुभएको थियो । उहाले गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताउनु भयो । ‘हामीले ल्याएको परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने ठूलो होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हामी छँदै नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन म अध्यक्ष छोड्न तयार छु ।’