जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार ११:५५

फेरि हत्या-हिंसामा उत्रियो बिप्लव समुह, मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या


विराटनगर, मंसिर २३ । प्रतित्रन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मोरङमा एक शिक्षकको अपहरणपछि हत्या गरेको छ । बिप्लव समुहले घरबाटै शिक्षकको अपहरण गरी जंगलमा लगेर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या भएको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । शिक्षक श्रेष्ठलाई बर्खे जंगलमा लगेर विप्लव समूहले हत्या गरेको एसपी खड्काको भनाई छ । प्रहरीका अनुसार आज बिहान सवा ६ बजेतिर चार–पाँच जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर जंगल लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर श्रेष्ठको हत्या गरिएको हो ।

सो घटनापछि त्यस क्षेत्रमा व्यापक परिचालन गरिएको छ । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको एसपी खड्काले जानकारी दिनुभयो । शिक्षक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुनुहुन्थ्यो । विप्लव समूहले भने यसबारे अहिलेसम्म केही बताएको छैन ।