काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रमजीवि पत्रकारको समस्या बुझेर जिल्लाबाटै प्रेस पास र अनलाइन नविकरणको ब्यवस्था मिलाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभरका पत्रकारको समस्या बुझेर यस्तो ब्यवस्था गर्नुभएको हो ।
प्रेस पास नविकरण र अनलाइन नविकरणका लागि सूचना तथा प्रशारण बिभागमै धाउनु पर्ने बाध्यताका कारण देशभरका पत्रकारले निकै सास्ती खेप्नुपरेको थियो । मन्त्री गुरुङले मन्त्री स्तरीय निर्णय गरी अवदेखि जिल्ला हुलाक कार्यालयबाटै सो काम गर्ने ब्यवस्था मिलाउनु भएको हो । ‘प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाईन नविकरणको अधिकार जिल्ला हुलाक कार्यालयमा प्रत्यायोजन गरिएको छ,’ सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव डिल्लीराम शर्माले भन्नुभयो । मन्त्रालयले आज बिज्ञप्ती नै जारी गरी अव जिल्ला हुलाकबाटै यी काम हुने प्रष्ट पारेको छ।
यस्तो छ बिज्ञप्ती
छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली,२०४९ को नियम ९ मा प्रेस प्रतिनिधिको प्रमाणपत्रको लागि विभागका महानिर्देशक समक्ष निवेदन दिनुपर्ने तथा महानिर्देशकले प्रमाणपत्र दिनसक्ने र ऐ. नियम ११ मा महानिर्देशकले प्रमाणपत्र नविकरण गरिदिनसक्ने व्यवस्था रहेको र अनलाईन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ को उपदफा (१) मा अनलाईन सञ्चारमाध्यमले प्रत्येक वर्षको असार मसान्तभित्र विभागमा नविकरण गराउनु पर्ने कानूनी व्यवस्थाका कारण सेवा प्रवाह केन्द्रीकृत भई समय, आर्थिक भार बढ्न गई झन्झटिलो प्रकृयाले सेवा प्रवाहमा असर पारिरहेकोले वर्तमान अवस्थालाई मध्यनजर गरी सुशासन ऐन, २०६४ को दफा २२ को उपदफा (१) मा आफुमा निहित अधिकार आफु मातहतको पदाधिकारीलाई प्रत्यायोजन गर्न सक्ने कानूनी व्यवस्थाको अधिनमा रहि सूचना तथा प्रसारण विभागको महानिर्देशकमा निहित उक्त नविकरण गर्ने अधिकार यस मन्त्रालयको मिति २०७७/८/२२ (मन्त्रिस्तर) को निर्णयानुसार सवै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरिएको हुँदा सम्बन्धित जिल्ला हुलाक कार्यालयहरु, हुलाक निर्देशनालयहरु र विभागवाट प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि आवेदन, नविकरण तथा अनलाईन नविकरण सम्बन्धी सेवा प्राप्त गरी लाभ उठाउन हुन सम्पूर्ण सञ्चारकर्मीहरुमा हार्दिक अनुरोध गरिएको छ ।
(डिल्ली राम शर्मा)
सहसचिव/प्रवक्ता
२०७७मंसिर २४ गते, बुधबार
प्रतिक्रिया दिनुहोस्