जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १४:४६

समृद्धिको यात्रा असफल बनाउने तमाम प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नुपर्छ : प्रचण्ड


राजनीतिको मूल प्रवाहमा आउन विप्लव समूहलाई अपिल

काठमाडौं, जेठ १९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन अपिल गर्नुभएको छ । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले सो आग्रह गर्नुभएको हो ।

कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि नेकपामा आएर जोडिनै पर्ने बताउनुभयो । उहाँले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्ने बताउनुभयो । सरकारले विप्लव समूहका हिंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाएको छ । ‘म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस, बसेर छलफल र संवाद गरौं । इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौं । देश र जनताका आकांक्षा पूरा गरौं । विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिउँ । यो ऐतिहासिक आवश्यकता हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । ‘लामो बलिदान र संघर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ । जनताले ठूलो भरोसा गरेको छ । हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ । सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौं । यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ । सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको शृं्खला रोकिने छैन ।’

पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले समाजवादको उद्देश्यमा जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको ठोकुवा गर्दै अध्यक्ष प्रचण्डले सापेक्षितरुपमा तल्लो वर्ग र उत्पीडित वर्गलाई प्राथमिकता दिएर समाजवादको आधार तयार गरिरहेकाले अन्य समूहका कोही कम्युनिष्टका नाममा छरिएर रहन नपर्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले वैधानिक, शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिष्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूलप्रवाहमा फर्कनु सही समयको सही निर्र्णय भएको उल्लेख गर्दै राईले विगतमा गरेको त्याग, बलिदानका आधारमा आवश्यक भूमिका दिइने प्रतिवद्धता पनि उहाँले जनाउनु भयो ।

आफैंले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर गएमा अभिभावकलाई चिन्ता परे झैँ पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेकामा आज उहाँ पार्टीमा फर्केकामा खुशी लागेको अनुभव पनि उहाँले सुनाउनुभयो । पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहनुभएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेललगायतले राईलाई स्वागत गर्नुभएको थियो ।