जनता टाइम्स

२५ मंसिर २०७७, बिहीबार १४:३४

भारत–नेपाल अन्तर सरकारी समितिले गर्यो यस्तो निर्णय


काठमाडौं, मंसिर २५

नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा भारत–नेपाल अन्तर सरकारी समिति (आजीसी) को बैठक भिडियो कन्फरेन्स मार्फत हालै सम्पन्न भएको छ। अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य विषयमा वैठकको आयोजना गरिएको थियो। भारतीय टोलीको नेतृत्व वाणिज्य मन्त्रालयका वाणिज्य सचिव श्री अनुप वाधवाले गर्नुभएको थियो । टोलीमा भारतीय राजदुत विनय मोहन क्वात्रासहितका कर्मचारी र विभिन्न मन्त्रालय अधिकारीहरु सहभागी रहनुभएको थियो ।

यसैगरी, विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गर्नुभएको थियो । आइजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने प्रमुख द्धिपक्षीय संयन्त्रको रुपमा रहेको छ । बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समिक्षा गरिएको थियो भने व्यापार तथा पारवाहन सन्धिको बृहत समिक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकासमा सामन्जस्यता कायम गर्ने लगायतका विषयमा छलफल भएको थियो ।

व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाईएको छ । नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रुपमा रहेको छ । वास्तवमा भारत नेपालको एक मात्र त्यस्तो व्यापार साझेदार मुलुक हो जससँग पछिल्लो दुई तीन वर्षमा नेपाली निर्यातमा लगातार वृद्घि भएको छ ।

आजको बैठकमा भएको विस्तृत छलफल र प्रगतिले भारत र नेपालबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ । यसैविच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको दाबी गर्दै वैश्विक लगानीको आह्वान गर्नुभएको छ ।

‘ब्लूमबर्ग न्यू इकोनोमिक फोरम’ लाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभएको छ, ‘यदि तपाईं सहरीकरणमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने भारतमा तपाईंका लागि रोमाञ्चक अवसरहरू छन् । यदि तपाईं गतिशीलतामा लगानी गर्ने सोचमा हुनुहुन्छ भने भारतमा तपाईंका लागि उत्साहपूर्ण अवसरहरू छन् । यदि तपाईं नवीनतामा लगानी गर्न चाहानुहुन्छ भने भारतसँग तपाईंको लागि नविनतामा बृहत क्षेत्रहरु छन्।’ कोरोना भाइरस महामारीले खडा गरेको ‘ठूलो चुनौती’ हुँदाहुँदै पनि भारतले यस कठिन समयको अवधिमा एक ‘असाधारण उदाहरण’ प्रस्तुत गरेको मोदीले बताउनुभएको छ ।