जनता टाइम्स

२५ मंसिर २०७७, बिहीबार १५:११

सातामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिश


काठमाडौं, मंसिर २५

सरकारलाई हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सिफारिश गरेको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले सरकारलाई हप्तामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको थियो ।

समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल हुनुहुन्छ । हाल नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन छ । यसअघि मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।

समितिले गरेको अध्ययन अनुसार संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने गरेको छ । सातामा एक दिन मात्र बिदा दिने मुलुक १२ प्रतिशत रहेको अध्ययनमा देखिएको छ । एउटा देशले भने सातामा तीन दिनसम्म बिदा दिने गरेको छ । सबैभन्दा बढी बिदा दिने मुलुक कम्बोडिया र सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुक मेक्सिको भएको अध्ययनमा उल्लेख छ ।