जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १५:१७

बेलायत, फ्रान्स र स्विट्जरल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, यस्तो छ तीन देशको भ्रमण सूची


काठमाडौं, जेठ १९

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली राष्ट्र बेलायत, फ्रान्स र स्विट्जरल्याण्डको भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री ओली यही जेठ २५ गतेबाट नौ दिने युरोप भ्रमणमा निस्कन लाग्नुभएको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे जानकारी दिनुभएको हो । मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने टुंगो लागेको हो । मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली २५ गते जेनेभाका लागि प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले जेठ २६ गते जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

यस्तै २७ गते प्रधानमन्त्री जेनेभाबाट लण्डन प्रस्थान गर्नुहुनेछ । बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको विशेष कार्यक्रम नेपालको प्रजातन्त्र र विकासबारे आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको छ । बेलायती संसदको एक समितिको बैठकमा समेत प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायत बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने कार्यक्रमसमेत तय भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

सो भेटमा भुतपूर्व गोरखा सैनिकका विषयबारे कुराकानी हुनेछ । भेटपछि द्वीपक्षीय सहयोगका केही घोषणा समेत हुने अपेक्षा गरिएको छ । बेलायती समकक्षीसँगको भेटपछि जेठ २९ गते प्रधानमन्त्री ओली लण्डनबाट फ्रान्स प्रस्थान गर्नुहुनेछ । नेपाल–फ्रान्स दौत्य सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति इमायुल म्याक्रोंसँग भेटबार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । नौ दिने भ्रमण सकेर प्रधानमन्त्री असार १ गते स्वदेश फर्कने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा सहभागी हुने सदस्यहरुको नामावली अहिलेसम्म सार्वजनिक भएको छैन ।