जनता टाइम्स

२७ मंसिर २०७७, शनिबार ०७:५६

नारायणकाजीलाई राजीनामा दिन चर्को आवाज


काठमाडौं, २७ मंसिर । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा परेका छन् । आदर्शवादी चरित्र भएका नेताका रुपमा चिनिने नेता श्रेष्ठमाथी आर्थिक चलखेल देखि अनैतिक सम्बन्धको विषयले विवादमा तानिएका छन् ।

कमानसिंह लामाको निधनको कारण मानसिक र आर्थिक रहेको र यसमा नेता नारायणकाजी श्रेष्ठ अदृश्य रुपमा कारण बनेको लामाको परिवारले दावी गरेका छन् । कमानसिंह लामाले समेत केहि समयदेखि सामाजिक संजालमा नारायाणकाजी श्रेष्ठका कारण आफ्नो परिवार बिग्रेको आरोप लाईरहेका थिए । यो संगै नारायणकाजी र कमानसिंह बीच आर्थिक कारोवारको विवाद भएको भिडियो बाहिरिएको छ जसले नेता नारायणकाजी माथि प्रश्न उठेको छ ।

कमानसिंह लामाले नारायणकाजीका निकट मानिने महिला सुसन कर्माचार्यलाई अढाई करोड रुपैयाँ बैंकबाट ब्याजमा लिएर उक्त रकमको सेयर दिएको तर आफूले उक्त पैसा नपाएको गुनासो गरेका छन् । एक हाइड्रोको सेयर सुसनलाई दिएको तर उक्त सेयर बापत पैसा नपाएको भन्दै गुनासो गर्दा नारायणकाजी श्रेष्ठले सबै जना मिलेर जानुस भन्ने खालको तर्क दिएको भिडियोमा सुन्न सकिन्छ । लामाका परिवारका अनुसार उक्त पैसा नेता श्रेष्ठले उपयोग गरेको र उक्त पैसा फिर्ता दिन कुनै पहल नगरेको आरोप लाएका छन् ।

सुसन संगै कमानसिंहकि कान्छी पत्नी इन्द्रमाया लामाको पनि संलग्न रहेको उक्त वार्तामा सुन्न सकिन्छ । कमानसिंहको आरोप अनुसार इन्द्रमाया र नारायणकाजीको सम्बन्धका कारण लामाको घर बिग्रिएको हो । अहिले नारायणकाजी र इन्द्रमाया लामाले गोसाइकुण्ड पुगेर खिचेको तस्विर सामाजिक संजालमा भाईरल भइरहेको छ जसले नेता श्रेष्ठमाथी प्रश्न उब्जाएका छन् । यहि आरोपहरु र प्रश्नहरुका कारण नेता श्रेष्ठलाई राजीनामा दिन दबाब आईरहेको छ ।

नेकपाकै नेताहरुमा नैतिकताको प्रश्न उठ्दा राजीनामा दिनुपर्ने चर्को आवाज उठाउने नारायणकाजी श्रेष्ठमाथि समेत अहिले यहि अवस्था आएकोले नेता श्रेष्ठ बिहानै नेकपाका अध्यक्ष पुष्प कमल दाहाल भेट्न उनको निवास पुगेको एक स्रोतले जनायो । श्रेष्ठले आफू माथी हमला भएको भन्दै आफ्नो पद जोगाउन र कसरी अघि बढ्ने भन्ने परामर्श लिन प्रचण्डको निवास पुगेको बताईएको छ ।

कमानसिंहले सामाजिक संजालमा लाएको आरोप र परिवारले समेत लाएको आरोपले गर्दा अहिले नारायणकाजी श्रेष्ठमाथी नैतिकताको प्रश्न उठेको छ । गोकुल बास्कोटादेखि कृष्ण बहादुर महराले आफू माथी आरोप लागेपछि राजीनामा दिएर अनुसन्धान गर्न सहयोग गरेकाले अब नेता श्रेष्ठले पद जोगाउछन कि के गर्छन भन्ने सबैको चासोको विषय बनेको छ ।