जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार ०१:४४

नारायणकाजीको बचाउमा उत्रन माधव नेपालको उर्दी !


काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफैले अघि बढाएको एउटा कार्यकर्ताको जीवन नै बर्वाद पारेको घटनालाई राजनतिक रंग दिने प्रयाश भएको छ । प्रवक्ता श्रेष्ठको गाँस, बास र कपासदेखि महिनैपिच्छे आयोजना गरिने घरानीया पार्टीको समेत ब्यवस्थापन गर्ने सचिवालय प्रमुख सुशन कर्माचार्यमार्फत हडपिएको कमानसिंहको पैसा फिर्ता गराउन लाग्नुको साटो नेकपाकै नेताहरुले गुटगत चस्मा राखेर राजनीतिक रंग दिँदै बचाउनका लागि सडकमा समेत जानु भन्दै उर्दी जारी गरेको तथ्य बाहिर आएको हो ।

स्रोतका अनुसार नैतिकता, चरित्र र आर्थिक मामिलामा अत्यन्तै उदाहरणीय मानिनु भएका नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नै अर्काको घर बिगारि दिने र पैसा हडप्ने काममा संलग्न मात्र नभई बिचौलियाको काम समेत गर्नुभएका नारायणकाजी श्रेष्ठको बचाउमा लाग्न उर्दी दिनुभएको सूचना तल्लो तहसम्म पुगेको छ । ‘माधव कमरेडले नारायणकाजीले जे सुकै गल्ती गरेको हुन, पछि हिसाव गरौंला, अहिले उनलाई बचाउन लाग्नोस, आवश्यक पर सडकमैपनि नारायणकाजीलाई फसाउन खोजियो भनेर जानुपर्छ, त्यो काम गर्नाेस भन्नुभएको छ,’ सामाजिक सञ्जालमा नारायणकाजी श्रेष्ठको बचाउन लागेका माधव नेपाल निकट जनसंगठनका एक नेताले जनताटाइम्ससँग भने ।

उनका अनुसार शुक्रवारबाटै नेता नेपालको निर्देशन भन्दै शुक्रवार बिहानैबाट नारायणकाजीको बचाउमा झण्डै एक हजार नेपाल निकट कार्यकर्ता लागेका छन । नेपालको निर्देशन आएको भन्दै केही नेताहरुले सामाजिक सञ्जालमा श्रेष्ठको पक्षमा बचाउका लागि अभियान नै चलाएका छन । नेपालले नारायणकाजी बचाउनु पर्ने उर्दी जारी गरेपछि नै उहाँ निकट केन्द्रीय सदस्य तथा जनसंगठनका नेताहरु यतिबेला ओली पक्षधरले फसाउन लागे, सचिवालयबाट हटाउने योजना बनाए, प्रतिवादमा उत्रन पर्यो भन्दै आफ्नो समुहमा म्यासेज गरिरहेका छन ।

बरिष्ठ नेता नेपाल नारायणकाजीको बचाउमा लागेको प्रमाण उहाँको निर्देशनबिना कुनै काम नगर्ने केन्द्रीय सदस्य बिष्णु रिजाल नै सवैभन्दा पहिला श्रेष्ठको बचाउमा उत्रिएपछि नै पुष्टि हुन्छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पातालमा धसाउनु पर्छ भन्दै माधव नेपालको अभियान छेडदै आउनु भएका र नेपाल प्रमुख रहनुभएका बिदेश बिभागका उपप्रमुख समेत रहनुभएका केन्द्रीय सदस्य रिजाल शुक्रवार बिहानै श्रेष्ठको प्रवक्ता बनेर मैदानमा उत्रनुभएको थियो ।

बिहीवार कमानसिंहप्रति श्रद्धाञ्जली लेख्नुभएका रिजालले शुक्रवार लेख्नुभएको छ, ‘नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली गलौज गर्ने चलन चलेकै छ । तर, सार्वजनिक अडिओ भिडिओ अनुसार उहॉले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन । शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जॉदैन र ? तुलनात्मक रूपमा इमानदार, सादगी र सरल नेता नारायणकाजी श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेर चुनौती दिनुभएको छ । पार्टीभित्र आवाज उठेकै छ( को नेता र तिनका छोराहरू के केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ ।’

श्रेष्ठको बचाउमा पहिलो खेलाडी बनेर मैदानमा उत्रनुभएका रिजालको पोष्टलाई अर्का युवा नेता निरज आचार्यसहित नेपाल पक्षधर नेता कार्यकर्ताले शेयर गरी भाइरल बनाउने काम भएको थियो । रिजालको सो पोष्टलाई माधव नेपालकै निर्देशनअनुसार आएको भन्दै फोन गरेर समेत शेयर गर्न निर्देशन दिइएको थियो । माधवको नाम लिएर नारायणकाजीको बचाउमा नेपाल निकट नेता कार्यकर्ता मैदानमा उत्रिएको भएपनि नेपाल स्वयं भने अहिलेसम्म केही बोल्नुभएको छैन । नारायणकाजी सही छन कि गलत भन्ने एकिन छैन भन्दै परिवारका सदस्यसँग जवाफ दिनुहुने र महिला र आर्थिक मामिलामा अत्यन्तै कठोर मानिने नेता नेपालकै नाममा बिना छानविन नारायणकाजीको बचाउमा कसरी सिंगो शक्ति परिचालन भयो ? यो भने रहष्यकै बिषय बनेको छ ।