जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार १३:१६

उखु किसानले थाले आन्दोलन, सानो छ देश, ठूलो छ सरकार, अटेन किसान


काठमाडौं, मंसिर २८

सर्लाहीका उखु किसानहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन थालेका छन् । किसानहरुले आफ्नो उत्पादन बिक्री गरेको वर्षौंदेखिको बक्यौता रकम नपाएको भन्दै प्रदर्शन गरेका हुन् । गत वर्ष पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेपनि त्यसको पूर्ण कार्यान्वयन नहुँदा उखु किसानहरु तराई मधेसबाट काठमाडौं आएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै आजदेखि उनीहरुले धर्ना दिन थालेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार सरकारले किसानसँग गरेको पटक–पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताउनुभयो । उनीहरुले तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर आफ्ना माग राखेका थिए भने मन्त्रीले पैसा दिलाइदिने बाचा गर्नुभएको थियो ।

तर, किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् । चार चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । जसअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन बाँकी छ ।