जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार १३:३८

प्रचण्डलाई नेम्वाङले संझाए ओलीसँगको त्यो सहमति


काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवाद समाधानका लागि दोस्रो पुस्ताका नेताहरुले दुवै अध्यक्षमाथि दवाव बढाएका छन ।

सचिवालयमा गठबन्धन गरेर पार्टी नै बिभाजनको बिन्दुमा पुर्याएपछि हस्तक्षेपकारी भुमिकामा रहेका स्थायी कमिटीका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डमाथि एकता तलबितल हुने कुनै काम गर्न दवाव बढाएका हुन । बिगतमा पाएको तर अहिले नपाएको भन्दै छटपटिएर पार्टी नै बिभाजन गर्ने योजनाका साथ पाँच सात जना स्थायी कमिटी सदस्यको साथमा लागेर सचिवालयका नेताहरु सरकार र पार्टी नेतृत्वबिरुद्ध गएपछि स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गर्दा भएको सहमति, बिधानको ब्यवस्था र पछिल्लो पटक स्थायी कमिटीले गरेको निर्णयलाई संझाउँदै दुवै अध्यक्षमाथि दवाव बढाएका हुन ।

दवाव बढाउने क्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङले ओली र प्रचण्डसँग समीकरणको घेरा भन्दा माथि उठेर बिगतको सहमतिअनुसार एकता जोगाउन सुझाव दिनुभएको छ । प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा रहनुभएका नेता नेम्वाले आज खुमलटार नै पुगेर अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको छ । छलफलको क्रममा उहाँले एकताअघि दुई अध्यक्षबीच भएको थुप्रै सहमतिलाई स्मरण गराउनु भएको स्रोतले बतायो । ‘पार्टी एकता गर्नुअघि तपाईहरु (ओली–प्रचण्ड) बीच जुन सहमति भयो, त्यसबेला जुनजुन नेताको नाम लिएर यिनीहरुलाई थाह दिनुहुन्न, थाह पाए भने एकता भाँडछन भन्नुहुन्थ्यो, आज तिनै मान्छेलाई अगाडि लगाएर एकता भाँडने काम त भइरहेको छैन, अध्यक्ष कमरेडले त्यो कुरा फेरि एकपटक स्मरण गर्नुपर्यो,’ स्रोतका अनुसार अध्यक्ष प्रचण्डसँग नेम्वाङको भनाई थियो ।

नेम्वाङले एक अध्यक्षले अर्का अध्यक्षबिरुद्ध घेरावन्दी गर्ने, सीमाबाहिर गएर आरोप लगाउने र दुई अध्यक्ष भिडाएर पार्टीमा आफ्नो दुनो सोझ्याउने समुहको गोटी नबन्न पनि सुझाउनु भएको छ । प्रचण्डसँगको भेटपछि उपनेता नेम्वाङले पार्टी विवाद टुंग्याउन प्रचण्ड सकारात्मक रहेका प्रतिक्रिया दिनुभयो । नेम्वाङले आज बिहान प्रचण्डसँग खुमलटारमा झण्डै १ घण्टा लामो भेटवार्ता गर्नुभएको थियो । ‘कमरेड प्रचण्डले बोलाएपछि म बिहान खुमलटार गएको थिएँ, लगभग एक घण्टा छलफल भयो,’ नेम्वाङले भन्नुभयो, ‘विवाद मिलाउन म सकारात्मक छु, टुंगोमा पु¥याउन सकारात्मक भूमिका खेल्छु भन्नुभयो ।’

प्रचण्डलाई भेटेर फर्किएपछि उहाँले पार्टीको विवाद सहमतिमा टुंगिनेमा आशावादी बनेको जानकारी पनि दिनुभएको छ । ‘म प्रधानमन्त्रीज्यूसँग नियमित सम्पर्कमै छु, उहाँ पनि पार्टी विवाद मिलाउन सकारात्मक हुनुहुन्छ, प्रचण्ड पनि सकारात्मक नै हुनुहुन्छ,’ नेम्वाङले भन्नुभयो । आफूले अव सकारात्मक छु मात्रै नभनी बिवादलाई सहमतिमा पुर्याउन प्रचण्डलाई सुझाएको बताउनु भयो । ‘प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ, तपाईं पनि सकारात्मक, त्यसो भए मिल्नुस न कमरेड ! किन ढिलाई त ?’ प्रचण्डसँगको भनाई उधृत गर्दै नेम्वाङले भन्नुभयो ।

नेकपा स्थायी कमिटी बैठकअघि नेम्वाङले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ । गत मंसिर २१ गते आइतवार शुरू भएको बैठक एक सातापछि आज बस्न लागेको हो । यसअघिको बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने भन्दै लिखित पत्र पठाएर बैठकका उपस्थित नहुने जानकारी गराउनु भएको थियो । सोही कारण स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्तावलाई एजेण्डा नै बनाइएको छैन ।