विराटनगर, मंसिर २८
नेकपाका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पूर्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरणमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा मुछिएको सम्बन्धमा आफूबाट सिक्न आग्रह गर्नुभएको छ । सुरक्षण मुद्रण खरीद प्रकरणमा ७० करोडको अडियो प्रकरणमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिनुभएका बास्कोटाले प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै भन्नुभयो, ‘आदर्श नेताले मबाट सिक्ने के ! कम्तिमा मेरोजति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।’
आरोप उठ्नासाथ आफू र पूर्वसभामुख कृष्णबहादुर महराले छानबिनका लागि बाटो छोडिएको स्मरण गर्दै बास्कोटाले प्रश्न उठेपछि छानबिन गर भन्न सक्नुपर्ने पनि बताउनुभयो । त्यस्तै प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सांसद सदस्यसमेत रहनुभएको बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने बताउनुभयो ।
उहाँले अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी दुर्घटनामा पर्ने भन्दै अहिले देखिएको विवाद स्थायी कमिटी बैठकले समाधान गर्ने बताउनुभयो । पत्रकारसँग कुरा गर्दै बास्कोटाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने प्रयास भइरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘स्थिरताका लागि अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन मिल्दैन । अध्यक्षबाट हटाउने हो भने चार महिनापछि हुने महाधिवेशनसम्म पर्खनुहोस् ।’
यसबारे थप प्रस्ट पार्दै भन्नुभयो, ‘जनादेश प्राप्त प्रधानमन्त्रीलाई हटाउने अधिकार आमनिर्वाचनबाट गठन भएको संसद् र अध्यक्षबाट हटाउने अधिकार महाधिवेशनलाई मात्र छ । कसैले भन्दैमा केपी ओली प्रधानमन्त्री र अध्यक्ष पदबाट हट्ने कुरा आउँदैन ।’ तोकिएको मिति आगामी चार महिनाभित्र महाधिवेशन सम्पन्न गरेर पार्टीमा नयाँ विधि सम्मत अध्यक्ष चयन हुनुपर्ने र आम निर्वाचनपछि प्राप्त जनादेशको आधारमा प्रधानमन्त्री नियुक्त्त गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले नेपाली कम्युनिस्टहरु लोकतान्त्रिक भएकोले पार्टीमा आन्तरिक बहस र छलफल हुनु स्वभाविक भएको बताउनुभयो । नेकपा जनताको जनादेशको जगमा निर्माण भएकोले कुनै हालतमा विभाजन नहुने उहाँले दाबी गर्नुभयो ।
बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव पूर्वका मानिसलाई थाहा भएको बताउनुभयो । अघिल्लो स्थायी कमिटीको बैठकमा केपी ओली सहभागी नभएको प्रशंगमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग मेरो सल्लाह भएको छैन । बैठकमा हामीले जानुहोस् भन्दा जाने, नजानुहोस भन्दा नजाने । केपी ओलीको स्वभाव त पूर्वका मान्छेलाई थाहा होला ।’
प्रतिक्रिया दिनुहोस्