जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार १९:०६

प्रचण्डले गरिदिए दिवंगत कमानसिंहलाई नै दोषी करार


काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले केही दिनअघि दिवंगत पार्टी केन्द्रीय सदस्य तथा पूर्वसांसद कमानसिंह लामा नै दोषी रहेको किटानी गर्नुभएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र उहाँका स्वकीय सचिव सुशन कर्माचार्यले २ करोड ५० लाख रुपैयाँ पैसा खाइदिएर श्रीमतीसमेत पराई बनाइ दिएको भन्ने लिखित उजुरी गर्ने नेता लामा नै दोषी रहेको निश्कर्ष आजको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले सुनाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दिवंगत नेता लामाप्रति श्रद्धाञ्जली अर्पण र शोक प्रस्ताव पारित गरेसँगै अध्यक्ष प्रचण्डले उहाँलाई उपचारसमेत गर्न नसक्ने अवस्थामा पुर्याएर मृत्युवरण गर्न बाध्य पार्ने नारायणकाजीको पक्षमा आफूलाई उभ्याउनु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले कमानसिंह र हाइड्रोपावर कम्पनीको शेयर बिवादमा श्रेष्ठको बचाउ गर्नुभएको हो ।

‘नारायणकाजी कमरेड निर्दाेष हुनुहुन्छ, उहाँबिरुद्ध ठुलै षडयन्त्र भइरहेको छ, उहाँहरु तिनै जना –कमानसिंह लामा, पत्नी इन्द्रमाया तामाङ र सुसन कर्माचार्य) एउटै परिवारको भएकोले उहाँले मिलाउन (बिचौलिया) भूमिका मात्रै खेल्नुभएको हो, उहाँ कँही कतै दोषी देखिनुहुन्न, तपाईंहरु कोही पनि बाहिर छरिएको भ्रममा नपर्नाेस,’ नारायणकाजी निर्दाेष रहेको र कमानसिंह नै दाषी रहेको घोषणा गर्दै बैठकमा प्रचण्डले भन्नुभयो । नेकपाका केन्द्रीय सदस्य लामाले गत भदौ ७ गते नै नारायणकाजी र सुशनले आफ्नो पत्नीसमेतलाई गलत काममा फसाएर आफ्नो पैसा खाइदिएको र पत्नीलाई नै पराइ बनाइ दिएको उजुरी गर्नुभएको थियो ।

यो लडाईंकै बीचमा कोरोना संक्रमणमा परी लामाको मृत्यु भएपछि उहाँमाथि नारायणकाजीले पदको आडमा गरेको डरलाग्दो अपराध बाहिर आएको थियो । अध्यक्ष प्रचण्डले यस बिषयमा आज लामाप्रति श्रद्धाञ्जली दिने क्रममै श्रेष्ठलाई निर्दाेष र मृतक लामालाई नै दोषी करार गर्नुभएको हो । यसअघि तात्कालिन सभामुख कृष्णबहादुर महरा र सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि आरोप लाग्दा सामान्य सोधपुछसमेत नगरी हटाउने अभियानको नेतृत्व गर्नुभएका प्रचण्डले श्रेष्ठ र सुसनको बिषयमा सवै जानकार भएपनि मृतक कमानसिंहलाई नै दोषी करार गरिदिनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दिवंगत नेता लामाप्रति श्रद्धाञ्जली अर्पण र शोक प्रस्ताव पारित गरेसँगै अध्यक्ष प्रचण्डले उहाँलाई उपचारसमेत गर्न नसक्ने अवस्थामा पुर्याएर मृत्युवरण गर्न बाध्य पार्ने नारायणकाजीको पक्षमा आफूलाई उभ्याउनु भएको हो । बैठकमा अध्यक्ष प्रचण्डले कमानसिंह र हाइड्रोपावर कम्पनीको शेयर बिवादमा श्रेष्ठको बचाउ गर्नुभएको हो 

नारायणकाजीको बचाउमा उत्रनुभएका अध्यक्ष प्रचण्डले कमानसिंहलाई न्याय दिलाउनु पर्छ भन्नेहरुलाई दलालको संज्ञासमेत दिनुभएको छ । बैठकपछि आरोपित नारायणकाजीले नै प्रचण्डले कमानसिंह लामा प्रकरणमा आफूमाथि लागको आरोप बिल्कुलै असत्य रहेको घोषणा अध्यक्ष प्रचण्डले गर्नुभएको जानकारी दिनुभयो ।

‘सुसनलाई म बच्चैदेखि चिन्छु । उहाँ अत्यन्त गतिशील र योग्य महिला हो,’ बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कमानसिंहजीको निधनमा हामी पनि दुःखी छौं । उहाँको मृत्युपछि नारायणकाजीजी र सुसनमाथि जुन आक्रमण भएको छ त्यो पूरै गलत छ । यो कुरा तपाईंहरु सबैले बुझ्न जरुरी छ ।’ अध्यक्ष प्रचण्डले सुसनलाई आफूले अध्यक्ष केपी ओलीसँग भेट्न सुझाएको जानकारीसमेत बैठकमा गराउनु भएको थियो ।