जनता टाइम्स

२९ मंसिर २०७७, सोमबार १३:०२

हात्तीको आक्रमणबाट २८ वर्षीय युवकको मृत्यु


सुनसरी, मंसिर २९

सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । राति आरक्षबाट आएको हात्तीले आज बिहान फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी धर्मेन्द्र मेहताले बताउनुभयो । घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोलीेले घटनास्थलमा गई अनुसन्धान शुरु गरेको छ ।

स्थानीयवासीले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन् । दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बँदेललगायत जनावरले बालीनाली नष्ट गर्नाका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानवीय क्षतिसमेत गर्दै आएको बताइएको छ ।