जनता टाइम्स

२९ मंसिर २०७७, सोमबार १५:१५

आलोचनात्मक चेत मुलुकको समृद्धि र एकताका लागि हुनुपर्छ : पर्यटनमन्त्री भट्टराई


काठमाडौं, मंसिर २९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मान्छेमा हुने आलोचनात्मक चेतलाई मुलुकको समृद्धिका लागि लगाउनु पर्ने तथ्य औल्याउनु भएको छ । आलोचनात्मक चेतलाई सम्मान गर्नुपर्ने र त्यसलाई मुलुकको हितमा लगाउनु पर्ने निश्कर्ष मन्त्री भट्टराईले सुनाउनु भएको हो ।

आलोचनात्मक चेतलाई सम्मान गर्नुपर्छ, तर त्यस्तो आलोचनात्मक चेत सिर्जनात्मक, समृद्धि र एकताका लागि हुनुपर्छ,’ नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले भन्नुभयो । उहाँले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने आफ्नो निचोड पनि राख्नुभयो । साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने उहाँको भनाई थियो ।

उहाँले साहित्य र कलाको माध्यमबाट देशमा जातीय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने बताउनु भयो । मन्त्री भट्टराईले प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयलाई कलमका माध्यमबाट उजागर गर्न अझ बढी भूमिका खेल्नुपर्ने बताउनु भयो । प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन उहाँले सुझाउनु भयो ।