जनता टाइम्स

३० मंसिर २०७७, मंगलवार १५:३७

बोटलर्स नेपालमा राजश्वको छापा : एनसेलजस्तै पूँजीगत लाभकर नतिरेको आशंका


काठमाडौं, मंसिर ३०

राजश्व अनुसन्धान विभागले एनसेलको जस्तै पूँजीगत लाभकर नतिरेको विषयमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल लिमिटेडको कार्यालयमा छापा मारेको छ । मूल कम्पनीको स्वामित्व परिवर्तन गर्दा पूँजीगत लाभकर नतिरेको विषयमा विभागले कागजपत्र जफत गरी छानबिन शुरू गरेको हो ।

६ वर्ष अगाडि नै विदेशमा भएको यस्तो कारोबारको विषयमा कम्पनीले लुकाउँदै आएपनि स्वामित्व परिवर्तन भइसकेको खुलेकाले कागजात कब्जा गरी अनुसन्धान अघि बढाइएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले जानकारी दिनुभयो । विभागले गत साता नै छापा मारेर कम्पनीको कागजात, कम्प्युटर, ल्यापटपसहितका सामाग्री अनुसन्धानका लागि कब्जामा लिएको छ ।

सन् २०१४ मै बोटलर्स नेपालको करीब तीन चौंथाई शेयर कोकाकोला साब्को (एशिया) लिमिटेडबाट बोटलिङ इन्भेस्टमेन्ट्स ग्रुपलाई बिक्री गरेको र यसको कारोबार विदेशमै भएको भेटिएको विभागका एक अधिकारीले बताउनु भयो । बोटलर्स नेपालमा अहिले ७६.१६ प्रतिशत शेयर मुल कम्पनी कोकाकोला साउथवेस्ट एशिया होल्डिङ्सको छ । २२ प्रतिशत शेयर स्वामित्व गोर्खा ब्रुअरीको छ भने सर्वसाधारण लगानीकर्तासँग १.८४ प्रतिशत शेयर स्वामित्व छ ।

नेपाली सरकारी निकायहरूलाई थाहा नदिई गरिएको यस्तो किनबेच कति रकममा गरिएको हो भन्ने नखुलेको तर कम्तीमा पनि रू १ अर्बभन्दा बढी पूँजीगत लाभकर छली भएको आशंका गरिएको विभागका ती अधिकारीले बताएका छन् ।

बोटलर्स नेपालको माउ कम्पनीको शेयर किनबेच भएको वर्ष नेपालमा बोटलर्स नेपालको प्रति शेयरको औसत मूल्य रू १ हजार ६६० थियो । बोटलर्स नेपालको चुक्ता पूँजी रू १९ करोड ४८ लाख छ । बोटलर्स नेपालले वर्षेनी रू ५ अर्बभन्दा बढीको कारोबार गर्छ । बोटलर्स नेपालअन्तर्गत बोटलर्स नेपाल (तराई) र ट्रोइका ट्रेडर्स छन् । बोटलर्स नेपाल तराईले माउ कम्पनी बोटलर्स नेपालभन्दा धेरै मुनाफा कमाउँछ । यो कम्पनीमा बोटलर्स नेपालको ९०.७८ प्रतिशत शेयर स्वामित्व छ ।