जनता टाइम्स

३० मंसिर २०७७, मंगलवार १७:०६

संवैधानिक परिषद्मा गुटको छायाँ देखिनु निकै गम्भीर


कामठाडौं, मंसिर ३०

संविधानविद् विपिन अधिकारी संवैधानिक परिषद्मा राजनीतिक दलको वा गुटको छायाँ देखिनु निकै गम्भीर विषय भएको बताउनुभएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले लगातार दुईपटक संवैधानिक परिषद् बैठक ‘बहिष्कार’ गरेपछि संवैधानिक भूमिकामाथि विज्ञहरुले प्रश्न उठाउनुभएको हो । प्रधानमन्त्रीले सरसल्लाह नगरी बैठक राखेको भन्दै सापकोटा संवैधानिक परिषद् बैठकमा उपस्थित हुनुभएन ।

यता अधिकारीका अनुसार आफ्नो विमति भए बैठकमा गएर धारणा राख्नुपर्छ । ‘संवैधानिक परिषद् भनेको देशका सबैभन्दा उच्च पदस्थ मान्छेहरु रहने महत्वपूर्ण राष्ट्रिय दायित्व बोकेको निकाय हो ।’ उहाँले भन्नुभयो,‘देशका तीनै अंगका प्रमुख व्यक्तिहरु रहेको, विशिष्ठ व्यक्तिहरुले मुलुकको लागि निर्णय गर्नुपर्ने ठाउँ हो ।’

उहाँले थप्नुभयो,‘सभामुख बैठकमा किन जानुभएन त्यो लगभग खुला भइसकेको छ । नेकपाको विवादमा उहाँ प्रयोग हुनुभयो तर उहाँको अनुपस्थितिले संवैधानिक दायित्वमाथि प्रश्न उठाएको छ ।’ उहँले बैठकनै बस्न नदिने, संवैधानिक अंगहरुलाई वर्षौसम्म खाली राख्ने र निर्देशित भूमिकामा रहने कुराले पद अनुसारको योग्यता नदेखाउने बताउनुभयो ।

सभामुख पद स्वतन्त्र भन्दै पूर्व सभामुख दमननाथ ढुंगाना पार्टीलाई सोधेर वा नेतालाई सोधेर जिम्मेवारी पूरा गर्ने नभएको बताउनुहुन्छ । उहाँले स्वतन्त्र भूमिकामा हुने सभामुख विवादमा पर्न नहुने बताउनुभयो । परिषदमा सभामुखको कुनै राजनीतिक भूमिका नहुने भन्दै नेकपामा एकले अर्कालाई कमजोर पार्न पोजिशन लिएको बेला प्रचण्डले प्रधानमन्त्रीलाई अफ्ठेरो पारेर निर्णयलाई असहयोग गरेको बताउनुभयो ।

यसअघि प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा अनुपस्थित हुँदा दश महिनादेखि संवैधानिक परिषद् बैठक बस्न सकेको छैन । देउवाले लगातार बहिष्कार गरेपछि गत बैशाखमा सरकारले अध्यादेशमार्फत् संवैधानिक परिषद्को बैठकसम्बन्धी कानुन नै संशोधन गर्न खोजेको थियो । कानूनअनुसार ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीबाहेक चार सदस्य उपस्थित भएमात्र कोरम पुग्ने व्यवस्था छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्ष र प्रधान न्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । संविधानविद् अधिकारीले सभामुखले संवैधानिक दायित्वभित्र रहेर बैठकमै आफ्ना बिमतिहरु राख्नुपर्ने भन्दै उहाँले बैठक बहिष्कार गर्नु पदीय आचरण विपरीत भएको बताउनुभयो ।