जनता टाइम्स

१ पुष २०७७, बुधबार ११:३०

अध्यादेश : संविधानको सास फेर्ने भेन्टिलेटर


आफ्ना जिम्माका काम लठबज्र छाडेर कामै नगर्ने हुतिहाराहरू जनताका लागि काम गर्नुपर्ने सत्तालाई सकारात्मक सहयोग गर्नुको साटो सिनो सम्झेर लुछ्न गिद्ध झैँ झुमिरहेछन र झिँगा झैँ भन्किरहेछन ! सत्तामा हुँदा नालायकीपनका कारण डुङडुङती गनाइसकेका र देशको ढुकुटी हसुर्नै खन्चुवा अगस्तिहरू विधि र पद्धतिका नाममा आज लाखे नाचिरहेछन् ! मृगको छाला ओढेका ब्वाँसाहरूले हड्डी चपाउँदै गरेको शाकाहारी अभिनय हेर्दाहेर्दा हत्तु-हैरान भएका आम जनताका आँखामा ३-३ वर्षसम्म संवैधानिक आयोगका पदाधिकारी नियुक्तिसमेत गर्न नसक्ने सरकारका रूपमा बदनाम गर्न तम्सिएका यी श्री पाँचहरूले तेर्स्याएको छिर्किनीको छेस्को भाँच्न समेत यो अध्यादेश अपरिहार्य थियो

प्रा.डा. ऋषिराम शर्मा

हेर्नमा त नेकपाको दुईतिहाई सरकार छ ! तर दुइ तिहाइको सरकारलाई काम गर्न नदिएर मुलुकको संविधानले उन्मुक्त काम गर्ने म्यान्डेट दिएको प्रधानमन्त्रीलाई एउटा मन्त्री नियुक्त गर्दा पनि मुण्ड मुण्ड बुद्धि मात्र होइन, मुण्डमुण्ड कुत्सित स्वार्थ भएका श्री ५ अर्थात् पाचओटा मदारीहरूले (श्री खु, श्री को, श्री ड, श्री हा र श्री भै)ले जब संविधान बमोजिम काम गर्न नदिएर जमुरे नचाएझै नचाउन थाल्छन् र “नाक र मुख थुनेर ल सास फेर्” भन्न थाल्छन्, हात र खुट्टा बाँधेर ‘ल अब कुँद्‘ भन्न थाल्छन् अनि “यसले सासै फेरेन” र ‘यो हिँड्दै हिँडेन’भनेर कटुवाल मिडियामार्फत् हाक पार्न थाल्छन्‌, त्यतिबेला संविधान बमोजिम सरकारलाई काम गर्न र संविधानको श्वासप्रश्वास नियमित राख्न संविधानले गरेकै व्यवस्थाबमोजिम सरकारले अध्यादेश ल्याउनै पर्ने वाध्यता हुन्छ भने अहिले सरकारले जारी गरेको अध्यादेश संविधानको सास फेर्ने त्यही भेन्टिलेटर हो र यो वाध्यताको उपज हो भन्ने सबैले बुझ्नु जरुरी नै छ !

लाज लाग्नुपर्ने हो, गतिछाडा श्री पाँचहरूलाई जसले आफ्ना अपराध छोपिएका लुगा निर्वस्त्र हुन्छन् कि भन्ने भयले सिङ्गो देशको दुईतिहाई सरकारलाई निरीह बनाएर हलो अड्काइ रहेछन् र निरन्तर १८ घन्टासम्म काम जोतिरहेका गोरु चुटिरहेछन् ! आफ्ना जिम्माका काम लठबज्र छाडेर कामै नगर्ने हुतिहाराहरू जनताका लागि काम गर्नुपर्ने सत्तालाई सकारात्मक सहयोग गर्नुको साटो सिनो सम्झेर लुछ्न गिद्ध झैँ झुमिरहेछन र झिँगा झैँ भन्किरहेछन ! सत्तामा हुँदा नालायकीपनका कारण डुङडुङती गनाइसकेका र देशको ढुकुटी हसुर्नै खन्चुवा अगस्तिहरू विधि र पद्धतिका नाममा आज लाखे नाचिरहेछन् ! मृगको छाला ओढेका ब्वाँसाहरूले हड्डी चपाउँदै गरेको शाकाहारी अभिनय हेर्दाहेर्दा हत्तु-हैरान भएका आम जनताका आँखामा ३-३ वर्षसम्म संवैधानिक आयोगका पदाधिकारी नियुक्तिसमेत गर्न नसक्ने सरकारका रूपमा बदनाम गर्न तम्सिएका यी श्री पाँचहरूले तेर्स्याएको छिर्किनीको छेस्को भाँच्न समेत यो अध्यादेश अपरिहार्य थियो !

हुनै बाँकी रहेको पार्टी एकीकरणका सङ्क्रमणकालीन अनि मनपरी ढङ्गले मनोनीत पार्टटाइम केन्द्रीय सद्स्यका क्रित्रिम बहुमतका झिजा सल्काएर सरकार पोल्न तम्सिने, सरकारलाई गैर संवैधानिक ढङ्गले अनिर्णयको बन्दी बनाउने, आफ्नै सरकारका विरुद्ध निर्लज्ज मिडियामा रत्यौली खेल्ने, जसको जौ खानु उसैको कपाल मुड्नु भने झैँ केपी ओलीकै पौरखमा चुनाव जित्ने, पार्टी एकीकरणका काम गर्छु भनेर केपी ओलीका हातमा रहेको कार्यकारी अधिकार ढाँटेर लिने अनि सचिवालयमा अनि भस्मासुरी शैलीमा उनै ओलीमाथि ‘गाली महाभारत’ ‘कुण्ठाशास्त्र नाम’का ठेली प्रस्तुत गर्ने र सरकारका काममा गैर संवैधानिक ढङ्गले हस्तक्षेप गर्ने यी अघोरीहरूको चक्रव्युहबाट मुकुकलाई मुक्ति दिनका लागि अध्यादेश वध्यताको फोर्सलेन्डिङ थियो भन्ने बुझ्नु जरुरी छ !

रगतजस्ता राता कट्कटिएका लुगाले रङ्गिएको भए पनि र अदालतमा मुद्दा चलिरहेको भए पनि अब आयन्दा त्यसो नगर्लान् भनी विश्वास गरिएका र राजीनामा दिएर सेता लुगा लगाएका सम्माननीय सभामुख महोदय ! संवैधानिक परिषद्को बैठकमा सेता लुगा काढेर आफनो पुरानो रातै कट्कटिएका लुगामा खुमलटारको र्यापमा नाच्नु र अनुपस्थित हुनु कुन विधि र पद्धति हो ? सभामुखले सबैधानिक मर्यादाभित्र बस्न नपर्ने वा श्री पाँचहरूले उर्दी गरी बस्न नदिने अनि दुईदुई पल्टसमेत अनुपस्थित हुने आदेश जारी गर्ने अनि अनिर्णयको बन्दी भएको परिषद्लाई लयमा ल्याउन अध्यादेश ल्याउँदा यिनको सातो जाने कारण के हो ?

ए लालबुझक्कड कुण्ठाग्रस्तहरू हो, आमचुनावबाट पराजित भैसकेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटै प्रदेश प्रमुख नियुक्त गर्दा गरेको सिफरिसतर्फ पनि नियालेर हेर ! त्यतिबेला पनि हारेका र काम चलाउ प्रधानमन्त्रीको सिफरिश कार्यान्वयन गर्न उहाँले आनाकानी गर्नु भएन, यसले गर्दा उहाँ संवैधानिक दायराभित्र हुनुहुन्छ र विवादरहित हुनुहुन्छ भन्ने पुष्टि गर्दैन र ? सम्माननीय राष्ट्रपतिले यदि सरकारले आवश्यक ठानेर अरू अध्यादेश ल्याए पनि जस्तोसुकै जोखिमपूर्ण निर्णय पनि पारित गर्नैपर्छ र गर्नुहुन्छ भन्ने पनि हेक्का रहोस् !

हो, अठार दिनपछि संसद बस्ने भएपछि अहिले अध्यादेश किन जरुरी भन्ने प्रश्न अनुचित नहोला ! तर जब कुनै गर्भवती महिलाको समान्य र स्वाभाविक ढङ्गले प्रसूति हुँदैन, प्रसूतिको डेट नाघिसकेको छ र बच्चा गर्भमै तुहिने एवम् मातृशिशुको समेत ज्यानको जोखिम छ भने त्यस्तो अवस्थामा हेलिकप्टरबाट उद्धार गर्ने र जोखिमपूर्ण शल्यक्रिया गर्ने अवस्था आउँछ । तीन-तीन वर्षसम्म आयोग रिक्त राखेर मुलुकको गतिलाई ठप्प पार्ने कुकृत्यविरुद्ध आएको यो अध्यादेश संवैधानिक परिषद्लाई मर्न नदिनाका लागि गरिएको उद्धार हो !

संविधानले परिकल्पना गरेबमोजम राष्ट्रपतिले सरकारले पेस गरेका विधेयक र अध्यादेश पारित गर्नैपर्छ ! राष्ट्रपतिले संविधान बमोजिम काम गर्दा विवादित भो भन्ने र सरकारले पेस गरेका विधेयक पास नगर्न र थप विवादमा होम्न खोज्ने लालबुझक्कडहरूले राष्ट्रपतिको संवैधानिक कदमलाई आफै विवादित बनाएर आफै राष्ट्रपतिलाई गैरसंवैधानिक बन्न हौस्याइ रहेछन् ! राष्ट्रपतिले मुलुकमा अस्थिरता नहोस भनेर सामान्य अभिभावकीय भूमिका निर्वाह गर्दा आकाश खस्यो भनेर बतुराउनेहरू स्वयम् नै राष्ट्रपतिलाई जवर्जस्ती विवादमा तान्न र मुलुकमा अस्थिरता निम्त्याउन न्वारानदेखिको बल लगाएर त्यसको दोष राष्ट्रपतिमाथि थोपर्ने दुस्साहस गरिरहेछन् ! श्री पाँचहरू हो ! दोष दिनु छ भने आफ्नै बेहोरालाई देऊ तर सरकारले पेस गरेको अध्यादेश राष्ट्रपतिबाट पारित भो भनेर करूण क्रन्दन नगर !

ए लालबुझक्कड कुण्ठाग्रस्तहरू हो, आमचुनावबाट पराजित भैसकेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटै प्रदेश प्रमुख नियुक्त गर्दा गरेको सिफरिसतर्फ पनि नियालेर हेर ! त्यतिबेला पनि हारेका र काम चलाउ प्रधानमन्त्रीको सिफरिश कार्यान्वयन गर्न उहाँले आनाकानी गर्नु भएन, यसले गर्दा उहाँ संवैधानिक दायराभित्र हुनुहुन्छ र विवादरहित हुनुहुन्छ भन्ने पुष्टि गर्दैन र ? सम्माननीय राष्ट्रपतिले यदि सरकारले आवश्यक ठानेर अरू अध्यादेश ल्याए पनि जस्तोसुकै जोखिमपूर्ण निर्णय पनि पारित गर्नैपर्छ र गर्नुहुन्छ भन्ने पनि हेक्का रहोस् !