जनता टाइम्स

१ पुष २०७७, बुधबार १३:२९

देश निश्चित व्यक्तिको कुण्ठा र पीडाको बन्धक हुँदैन : पूर्वमन्त्री बस्नेत


mahesh

भक्तपुर, पुस १

पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य महेश बस्नेतले अध्यादेशको विरोध गर्नुमा कुनै तुक नभएको बताउनुभएको छ । उहाँले मुलुकलाई निश्चित व्यक्तिको कुण्ठा र पीडाको बन्धकमा राखिराख्न नहुने बताउनुभयो । त्यस्तै सरकारले देशका संवैधानिक निकायलाई खाली नै राखेर देश सञ्चालनमा बाधा आइरहनु राम्रो संकेत नभएको उहाँको भनाई छ ।

‘भ्रष्टाचार भयो भनेर काल्पनिक गीत गाइरहने अनि अख्तियार दुरुपयोगको रिक्त पदमा नियुक्त गर्न नपाइने ?’ प्रतिप्रश्न गर्नुभयो । बस्नेतले अधिकनायवादको नारा लगाइरहने अनि गुटको निर्देशनमा पटक–पटक बैठकमा उपस्थित नहुनु नै अध्यादेशको कारक तत्व भएको बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मुलुक निश्चित ब्यक्तिहरुको कुण्ठा र पिडाको बन्धक भै रहनु पर्ने ! भ्रष्टाचार भयो भनेर काल्पनिक गीत गाइरहने अनि अख्तियार दुरुपयोगको रिक्त पद नियुक्ति गर्न नपाइने । अधिनायकवादको नारा लगाइरहने अनि संबैधानिक परिषद् बैठक बस्न नदिएर संबैधानिक नियुक्ति गर्न नदिने । लोकतान्त्रिक पद्धतिको कुरा हाँकिरहने अनि संबैधानिक र कानुनी काम गर्न नपाइने ।’

‘अब यस्तो प्रवृत्ति अन्त हुनै पर्दछ । दुई–दुई पटक सम्माननीय सभामुख नै गुटको निर्देशनमा बैठकमा अनुपस्थित भएर असहयोग गर्ने अवस्थाले गर्दा वाध्य भएर सरकारले अध्यादेश ल्याएर रिक्त रहेको नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएको छ। संबैधानिक हिसाबले आएको यो अध्यादेश ६ महिनाभित्र सदनले अनुमोदन गरेन भने मात्र प्रधानमन्त्रीको कदम गलत ठहरिनेछ। अन्यथा अनेक शब्दजाल प्रयोग गरेर यस्को बिरोध गर्नुको कुनै अर्थ छैन ।’