जनता टाइम्स

१ पुष २०७७, बुधबार १६:०२

मानव विकास सूचकांकमा नेपालको पाँच स्थान छलाङ


काठमाडौं, पुष १

सन् २०१९ मा नेपालको मानव विकास सूचकांकमा पाँच स्थानमाथी उक्लिएको छ । सन् २०१८ मा सूचकांक ०.५७९ रहेको त्यसमा सुधार गर्दै ०.६०२ पुगेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपाल संसारका मध्यम स्तरको मानव विकास भएको देशहरुको सूचीमा छ ।

प्रतिवेदनका अनुसार, संसारका मानव विकासका आधारमा १८९ देशमध्ये नेपालको स्थान १४२औं स्थानमा छ । नेपाल गत वर्ष १४७औं स्थानमा थियो । संसारमा सबैभन्दा धेरै मानव विकास भएको देशको पहिलो स्थानमा नर्वे छ। यसको मानव विकास सूचकांक ०.९५७ छ ।

दक्षिण एशियामा श्रीलंकाको मानव विकास सूचकांक अन्य देशका तुलनामा धेरै ०.७८२ (७२ औं स्थान) छ । भारतको मानव विकास सूचकांक ०.६४५ (१३१ औं स्थान) छ । बितेका तीन दशकमा नेपालले मानव विकासमा उल्लेख्य सुधार गरेको देखिएको छ । औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा आधारित सूचकांकहरूको प्रयोगद्वारा निकालिने मानव विकास सूचकांकले मानिसको जीवनको गुणस्तरलाई देखाउँछ । मानव विकास सूचकांकको अधिकतम मान १ अंक हो भने न्यूनतम मान ० अंक हो । सूचकांक जति धेरै माथि उक्लियो, उति विकासको अवस्थालाई बुझाउँछ ।

सन् १९९० मा ५४.४ रहेको औसत आयु अहिले ७०.८ वर्ष पुगेको छ । विद्यालयमा बिताउने वर्ष ७.५ वर्षबाट १२.८ वर्षमा पुगेको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३७२ डलर (सन् २०१७ को पीपीपी मूल्यमा)बाट बढेर ३ हजार ४५७ डलर पुगेको छ ।