काठमाडौं, पुस १
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खिमलाल भट्टराईले सरमाथि अनेक किसिमले गरिएको अवरोधको परिणाम नै अध्यादेश भएको बताउनुभएको छ । राष्ट्रियसभा सचेतकसमेत रहेका नेकपा केन्द्रीय कमिटी सदस्यसमेत रहनुभएका नेता भट्टराईले सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै सरकारलाई बन्दी बनाउन खोजेपछि अध्यादेश आएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘संवैधानिक परिषद्को वैठक बस्न र महत्वपूर्ण संवैधानिक नियुक्तिहरु गर्न अवरोध सिर्जना गर्ने, सरकारलाई हातखुट्टा बाँधेर काम गर्न नदिने जस्ता गतिविधिकै परिणाम अध्यादेश हो ।’ साथै उहाँले अभिमन्यूलाई जस्तै घेराबन्दीमा सरकारलाई राखेको तर, आफूहरु नारा-जुलुस, भेला र अन्तवार्ता दिँदै सरकारको आलोचना गर्न नछाडेको प्रचण्ड–नेपाललाई आरोप लगाउनुभयो ।
उहाँले थप्नुभयो, ‘यस किसिमको सरकारलाई गरिएको आन्तरिक र बाह्य गम्भीर अवरोधको परिणाम हो संवैधानिक परिषद् संबन्धी अध्यादेश ।’ साथै उहाँले लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणको निम्ति संबैधानिक अंगहरूको यथोचित व्यवस्था हुनु अनिवार्य भएको र त्यसैको परिणामका रुपमा अध्यादेश आएको दावी गर्नुभयो ।
साथै उहाँले पार्टीभित्रबाटै सरकार र देशलाई बन्दक बनाउने प्रवृत्तिकाविरुद्ध मार्ग प्रशस्त गरेको पनि बताउनुभयो । ‘संविधानको व्यवस्था, देश र जनताको वृहत्तर हितमा यो अध्यादेश आएको छ । सरकारको बोल्ड निर्णयलाई साथ दिऔं’, उहाँले भन्नुभयो । जनताले सुम्पिएको अभिभारा पूरा गर्न संयमित बन्दै फेरि पनि पार्टीभित्र सदृढ एकताको निम्ति पहल गर्न सबैलाई अनुरोध गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्