जनता टाइम्स

२ पुष २०७७, बिहीबार १०:२२

मानव विकासमा सूचकाङ्कमा पाँच स्थान माथि उक्लियो नेपाल : प्रतिब्यक्ति आम्दानी र औषत आयू पनि बढ्यो


प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष आठ महिना पुगेको छ भने विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ । बहुआयामिक गरिबी जनसङ्ख्याको ३४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२.६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै सेवा क्षेत्रमा १९.९ प्रतिशत संलग्न रहेको उल्लेख छ 

काठमाडौं, पुस २ । नेपालले मानव विकास सूचकाङ्कमा पाँच स्थान माथि फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल पाँच स्थान माथि उक्लदै १४२औंँ स्थानमा आएको हो ।

यसअघि सन् २०१८ मा नेपाल १४७औँ स्थानमा रहेको थियो । विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ रहेको थियो । यसअघि राष्ट्रिय योजना आयोग र यूएनडीपीकै सहकार्यमा मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ०.५८७ मात्र देखाएको थियो । मानव बिकाश सूचकाङ्कमा नेपाल दक्षिण एसियाली मुलुकमा छैटौं स्थानमा रहेको छ । सबैभन्दा अगाडि श्रीलङ्का ७२औँ स्थानमा छ । त्यसपछि माल्दिभ्स ९५औँ, भुटान १२९औँ, भारत १३१औँ र बङ्गलादेश १३३औँ स्थानमा छन् । नेपालपछि पाकिस्तान १५४औँ र अफगानिस्तान १६९औँ स्थानमा छन् । प्रतिवेदनमा १८९ देश समावेश छन् ।

प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष आठ महिना पुगेको छ भने विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ । बहुआयामिक गरिबी जनसङ्ख्याको ३४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२.६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै सेवा क्षेत्रमा १९.९ प्रतिशत संलग्न रहेको उल्लेख छ ।

प्रतिवेदनले कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी ३ हजार ४ सय ५७ डलर पुगेको देखाएको छ । सन् २०१७ लाई आधार मानेर निर्धारण गरिएको यस्तो आय सम्बन्धित देशका उपभोक्ताको खरिद क्षमतालाई विश्लेषण गरेर निक्र्योल गरिन्छ । मुद्रास्फीति नियन्त्रणमा रहेका देशहरूमा प्रतिव्यक्ति आयको तीन गुणासम्म यस्तो आम्दानी बढ्ने पाइएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विगत तीन दशकदेखि मानव विकास प्रतिवेदनहरूले विकास र मानव कल्याणको वैकल्पिक मूल्याङ्कन गरी त्यसका नीतिगत बहसलाई आकार दिएको उल्खेख गर्नुभयो । जुन मानव विकासको मापनका लागि प्रयोग गरिएको मापदण्डका रूपमा नेपाल लगायतका देशमा सामाजिक विकास ‘एजेन्डा’लाई अगाडि बढाउने आधार बनेकोसमेत मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

सन् १९९० देखिको मानव विकास प्रतिवेदनहरूले मानवको प्रगति र दिगो विकासका महत्वपुर्ण आयामहरूलाई जोड दिएको मन्त्री ज्ञवालीले बताउनुभयो । यसका कारण सरकार र सरोकारवालालाई चुनौती सम्बोधन गर्न सहयोग पुर्याइरहेको छ । हालसम्म मानव विकासका धेरै अवधारणा विकसित भएको औँल्याउँदै उहाँले यी प्रतिवेदनले युगको रूपान्तरणका लागि सघाउ पुगेको बताउनुभयो । दिगो विकास, मानव विकास र जलवायु परिवर्तन आपसमा अन्तरनिर्भर रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले ती सबै क्षेत्रमा गरिएका प्रतिबद्धता पूरा गर्न नेपाल तत्पर रहेको बताउनु भयो ।