जनता टाइम्स

२ पुष २०७७, बिहीबार १४:३३

उखु किसानको बक्यौता सातदिनभित्र तिर्ने व्यवस्था मिलाउन समितिको निर्देशन


काठमाडौं, पुस २

संसदीय समितिले उखु किसानको बक्यौता सातदिनभित्र तिर्ने व्यवस्था मिलाइदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा आज मन्त्री र सचिवलाई बोलाएर छलफल गरेको थियो ।

समितिले सातदिनभित्र व्यवसायीबाट रकम भुक्तानीको व्यवस्था मिलाइदिन मन्त्रालयलाई निर्देशन दिएको हो भने श्रम मन्त्रालयलाई पनि अर्को निर्देशन दिएको छ । ती उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा उद्योगको निरीक्षण गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको हो ।

२०७६ पुस १८ सम्म १४ उद्योगको १४० करोड बक्यौता रहेकामा २०७७ मंसिर ९ सम्म ६५ करोड बाँकी रहेको छ । यसमध्ये श्रीराम सुगर मिलले तीनदिनभित्रमा सबै बक्यौता तिरिसक्ने प्रतिवद्धता जनाएको छ ।