काठमाडौं, पुस २ । श्रीराम सुगर मिल्सले एक साताभित्र उखु किसानको रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले तत्काल किसानको बक्यौता रकम भुक्तानी गर्न दिएको निर्दैशनअनुसार सो मिल्सले पुस ८ गतेभित्र २५ करोड रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको हो ।
मिल्सको तर्फबाट सूचना जारी गरी सो मिल्सले भोलि पुस ३ गतेबाट भुक्तानी सुरु गरी ८ गतेभित्र सक्ने बताएको हो । ‘यस उद्योगको आ.व. २०७५/०७६ मा खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम रु २५ करोड ९० लाख ५३ हजार ५ सय २५ रुपैया २०७७ पुस ३ गते शुक्रवारका दिनबाट भुक्तानी चालू गरी पुस ८ गते बुधवारभित्रमा भुक्तानी गरिसक्ने ब्यहोरा जानकारी गराइन्छ,’ श्रीराम सुगर मिल्सले आज सूचना जारी गर्दै भनेको छ ।
सूचनामा उद्योगले आ.व. २०७१/०७२ मा खरिद गरेको उखुको बाँकी रहेको बक्यौता रकमको हकमा पुस ८ गतेपछि भुक्तानी गर्ने जनाएको छ । ‘माथि उल्लेखित रकम भुक्तानी भइस्केपछि उखु किसानहरुले आफ्नो नागरिकताको प्रतिलिपि र सक्कल किसान पुर्जा (३ सय क्वी. सम्मको किसानको सक्कलपुर्जा एक आपसमा फेरबदल भएमा सोलाई मान्यता दिई उद्योगले भुत्तानी दिनेछ) पेश गरी पुस ८ गतेदेखि कारखानाबाट जोनवाइन (१ जोनको भुक्तानी २ दिनमा गर्नै गरी) निरन्तर रुप्मा भुक्तानी गर्ने ब्यहोरा जानकारी गराउन चाहन्छौं,’ सूचनामा भनिएको छ । सो उद्योगले यसैअनुसार कारखानामा सम्पर्क गरी भुक्तानी प्राप्त गर्न किसानलाई आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्