काठमाडौं, पुष ३
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद लम्बिरहेका बेला गुटको भेला भने जारी रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सातै प्रदेशका आफु पक्षका जिल्ला अध्यक्ष र सचिवसँग छलफल शुरु गरेका छन् ।
केही समयअघि बागमति प्रदेशका केही अध्यक्ष र सचिवसँग भर्चुअल रुपमा छलफल गरेका उनिहरुले आज भने प्रदेश–१ का लाई भौतिक रुपमै उपस्थित हुन भनेका छन् । विशेष गरी भेला गर्ने जोड भने वरिष्ठ नेता नेपालले गरेको एक नेताले जानकारी दिए ।
प्रदेश १ का १४ जिल्लाका आफु पक्षका भनिएका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएका हुन् । यद्यपी बैठकमा कति जना सहभागी हुने उहाहरुलाई थाहा नभएको एक नेताले बताए । पार्टी विभाजन गर्दा आफ्नो पक्षमा कति नेता हुन्छन् भनेर आंकलन गर्न भेला गर्न लागिएको नेपाल निकट एक नेताले जानकारी दिनुभयो ।
पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलामा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली इतर समूहका अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । यो पक्षले यसअघि पनि गुटको विद्यार्थी भेला र प्रशिक्षण खुल्ला रुपमा गर्दै आएको छ ।
स्रोतका अनुसार पार्टीमा विवाद कायमै राख्ने र आफ्नो पक्षमा बहुमत पुगेपछि फुटको घोषणा गर्ने तयारी भईरहेको दावी गरेको छ । ‘अहिले पार्टीमा विवादले निरन्तर पाउनुमा उनिहरुको बहुमत छैन’, एक नेताले भने, ‘बहुमत पुग्ने भए प्रधानमन्त्री ओलीलाई पहिला नै हटाइसक्थ्ये । अहिले पनि उनिहरु विवाद कायम राख्दै आफ्नो पक्षमा बहुमत कायम गर्ने प्रयास गरिरहेका छन् ।’
प्रचण्ड–माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौं गर्ने भएको छ । काठमाडौंमा आएका जिल्ला अध्यक्ष र सचिवहरुलाईै आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला जिल्ला पठाउने तयारी भएको छ ।













प्रतिक्रिया दिनुहोस्